back

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री प्रचण्ड

nactional life

सङ्खुवासभा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उहाँले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयोे ।

“यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हाल परियोजनाको उत्पादनतर्फ ७४ दशमलव ०९ प्रतिशत र प्रसारणलाइनतर्फ ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।”

आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । “यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्न म सम्बन्धित पक्षलाई निर्देशन दिन्छुु” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले अघिल्लो महिना आफूले काठमाडौँ–नौबिसे सुरुङमार्ग र बहुद्देश्यीय मरिन डाइनर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै उहाँले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको जानकारी दिनुभयो ।

उक्त कार्यालयबाट आयोजना निर्माणमा देखिएको समस्या पहिचान गरी समाधानका निम्ति आवश्यक सहजीकरण हुँदै आएको उहाँले बताउनुभयो । आगामी दिनमा यस्ता आयोजनाहरूको नियमित अनुगमन गरी कार्यतालिका नै बनाएर अगाडि बढ्ने सोच आफूले बनाएको उहाँले बताउनुभयो ।

“मैले पटक–पटक भन्दै आएको छु, भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा पनि छिटो प्रगति गर्न सकिन्छ । यसलाई मैले नेपाल सुरूङ युगमा प्रवेश गरेको विम्बद्वारा विकास र समृद्धिको यात्रामा लामबद्ध हुन अपिलसमेत गर्दै आएको छु”, उहाँले भन्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पु¥याइने बताउनुभयो ।

“आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवद्र्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले यस वर्ष सुक्खायामको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण सुरू गर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण गरिने, माथिल्लो अरूण, जगदुल्ला, तामाकोशी पाँचाँंै, मोदी ए र चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण कार्य सुरू गर्ने, सुनकोशी–तेस्रो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

दश हजार आठ सय मेगावाट क्षमताको कर्णाली–चिसापानी जलविद्युत् आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइनको सुरू गर्ने, शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने, हरित हाइड्रोजन प्रवद्र्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन टावर प्याड निर्माणका लागि जग्गा प्राप्ति र स्थानीयसँग सहजीकरण गरी अवरोध हटाउने जिम्मेवारी पनि थपिएको बताउनुभयो । परियोजनाबाट पिडिएअनुसार प्रभावित परिवारलाई निःशुल्क विद्युत्, राजस्व र आयकर, स्थानीयका लागि शेयर, रोजगारी र तालिम, स्थानीय समुदायको विकास, प्रविधि हस्तान्तरण र सम्झौता अवधिपश्चात् चालु अवस्थामा नेपाल सरकारमा हस्तान्तरण हुने यो राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना भएकाले तोकिएकै समयमा परियोजना सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएकामा प्रधानमन्त्रीले जोड दिनुभयो ।

“तोकिएको मितिमा व्यावसायिक उत्पादन सुरू नभएमा वा कुनै कारणले उत्पादन ढिला हुन गएमा अनुमानित तथ्याङ्कअनुसार प्रतिदिन रू दुई करोड २७ लाख नेपाल सरकारलाई आर्थिक क्षति हुने भएकाले यसलाई गम्भीर रूपमा लिएर आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दल, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

आयोजना प्रभावित स्थानीयहरुको मागका विषयमा आफू जानकार रहेको भन्दै प्रधानमन्त्रीले स्थानीय जनसमुदायको चासो सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । “सरकारको अनुरोध छ, विकास र समृद्धि देशको साझा लक्ष्य हो । ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सृजना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुनजान्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

परियोजनालाई आवश्यक जग्गा प्राप्तिका साथै मुआब्जा वितरण समयमै सम्पन्न गरी सुरक्षा व्यवस्थालगायत आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका परियोजना सम्बद्ध सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै परियोजनालाई पूर्णरुपेण सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थपिने बताउँदै आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य सुनाउनुभयो । आगामी आर्थिक वर्षदेखि आयोजनाबाट उत्पादन हुने लक्ष्य रहेको भन्दै उहाँले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा सहयोगी हुने बताउनुभयो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयनका लागि यो आयोजना महत्वपूर्ण भएको बताउनुभयो । उहाँले अरुण नदीमा विद्युत् उत्पादनका लागि कैयौँ सम्भावना भएको भन्दै उक्त सम्भावनालाई दुवै देश मिलेर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अरुण नदीमा अन्य परियोजनाका लागि आफूहरु नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।

सतलज जलविद्युत् निगम (एसएपिडिसी)का प्रमुख प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजना निर्माणका लागि प्रधानमन्त्री दाहालले सुरुदेखि नै सहयोग गरिरहुनुभएको उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री दाहाल र नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

हाल आयोजनाको ७५ प्रतिशत काम पूरा भएको भन्दै उहाँले आयोजनालाई समयमै सम्पन्न गर्न कोशी राजमार्ग मर्मत तथा स्तरोन्नतिका साथै प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्तिमा सहयोग गरिदिन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गर्नुभयो । उहाँले यसका लागि उच्चस्तरीय समन्वय समिति गठन गरी लगानी बोर्डसँगको सहकार्यमा समस्या हल गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजनाले सन् २०२५ को मार्चदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनामा दुई सय २५ मेगावाट क्षमताको चार वटा टर्वाइनबाट नौ सय मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको मकालु गाउँपालिकाको वडा नं ३ र ५ रहेको बाँधबाट ११ दशमलव आठ किलोमिटरको सुरुङबाट चिचिला गाउँपालिका–३ पुकुवामा रहेको विद्युत्गृहमा पानी झारेर विद्युत् उत्पादन गरिनेछ ।

प्रधानमन्त्री दाहालसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजेन्द्र कार्की,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका साथै मकालु गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षको उपस्थिति थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...