सातौं चरणको चेम्बर एक्स्पो फागुन २४ गतेदेखि २८ गतेसम्म हुँदै
वि.सं.२०८० फागुन २१ सोमवार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौ चरणको ‘चेम्बर एक्स्पो २०२४’काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो हुन लागेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।
अर्थतन्त्र चलायमान बनाउनका लागि उक्त एक्सपो आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
साथै उक्त मेलाम इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत संचालन हुनेछ ।
एक्स्पोमा नेपालमा रहेको रूसी दुतावासको वाणिज्य शाखा र मलेसियन दुतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।
यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन ।
प्रर्दशनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।
नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ ।
यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क तथा लोयल्टी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन् ।
प्रदर्शनीमा अग्नी सुरक्षा उपकरणको सहयोग हिटको प्रालिले गर्ने भएको छ।
एक्स्पोको राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालीले गरेको छ ।
प्रकाशित समय : ०९:५४ बजे






















