पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले तीन संस्थालाई सहयोग गरेको छ।
बैंकले सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की र नेपाल–भारत मैत्री पुस्तकालय कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग प्रदान गरेको हो।
फेवा तालमा उद्धार कार्यका लागि प्रयोग हुने उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई रुफ ट्रस निर्माणका लागि सहयोग गरिएको बैंकले जनाएको छ।
त्यस्तै, रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई पोर्टेबल ब्लड ब्याग सेलर प्रदान गरिएको छ। नेपाल–भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक र पत्रपत्रिका खरिदका लागि सहयोग गरिएको बैंकले जनाएको छ।
पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदास तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल–भारत मैत्री संघ, कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेतीलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाइ, १२७ एटीएम तथा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : १३:११ बजे






















