सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए
वि.सं.२०८३ साउन २२ शुक्रवार
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राज कुमार अर्याल आजबाट पुनः आफ्नो नियमित कार्यसम्पादनमा फर्किएका छन्।
गत चैत्र १६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियन्त्रणमा लिएर सुरु गरेको लामो छानबिनपछि कुनै पनि कैफियत वा त्रुटि फेला नपरेपछि सिआईबीले उनलाई पूर्ण रूपमा सफाइ दिएको थियो।
अनुसन्धान प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न भएर सफाइ पाएलगत्तै अर्याल पूर्ववत रूपमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्न कार्यालय फर्किएको सन नेपाल लाइफले जनाएको छ।
नेपाल प्रहरीको सिआईबीले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्कासनका क्रममा कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँडमा अनियमितता र गडबढी भएको भन्ने उजुरीका आधारमा विस्तृत छानबिन अगाडि बढाएको थियो। करिब चार महिनासम्म चलेको गहन र सूक्ष्म अनुसन्धानका क्रममा सिइओ अर्याल तथा शेयर बाँडफाँड प्रक्रियामा कुनै पनि किसिमको गैरकानुनी वा त्रुटिपूर्ण कार्य नभएको पुष्टि भएपछि अनुसन्धान निकायले उनलाई क्लीयरेन्स दिएको हो।
यसअघि सिआईबीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको केही दिनमै अर्थात् चैत्र २२ गते अर्याललाई रिहा गरेको भए पनि उनले अनुसन्धानको सम्पूर्ण प्रक्रिया समाप्त नभएसम्म नैतिक आधारमा कार्यालय नफर्कने निर्णय लिएका थिए।
अनुसन्धान अवधिभर कम्पनीको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई सुचारु राख्न सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाललाई कार्यवाहक सिइओको जिम्मेवारी सुम्पिएको थियो। नियमनकारी र अनुसन्धानकारी निकायबाट पूर्ण सफाइ पाई निर्दोष साबित भएपछि अर्यालले पुनः कम्पनीको नेतृत्व सम्हाल्दै आफ्ना नियमित व्यावसायिक गतिविधिहरू अगाडि बढाएका हुन्।
प्रकाशित समय : १२:४५ बजे





















