खल्तीमार्फत अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता हुने
वि.सं.२०८३ साउन २२ शुक्रवार
काठमाडौं । अब आईएमई खल्ती (खल्ती) का प्रयोगकर्ताले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा सहज रूपमा सहभागी हुन सक्ने भएका छन्।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको यस कार्यक्रममा खल्तीमार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक र पाक्षिक उपहार योजनामा सहभागी हुने व्यवस्था गरिएको हो।
कार्यक्रमअनुसार हरेक दिन एक जना भाग्यशाली विजेताले कर कट्टीपछि रु. १ लाख प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा छनोट हुने एक जना बम्पर विजेताले रु. १० लाख पुरस्कार जित्नेछन्।
खल्तीमार्फत भएका योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ। सोही आधारमा उपहार कुपन स्वतः सिर्जना हुने र प्रयोगकर्ताले ती कुपन खल्ती एपमै हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल र इमेलमार्फत जानकारी दिनेछ। खल्तीमार्फत सहभागी भएर विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न माध्यमबाट सूचना उपलब्ध गराउने जनाएको छ।
खल्तीका अनुसार यस पहलले बिलमा आधारित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउने, कारोबारको अभिलेखीकरणलाई सहज बनाउने तथा औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको यो महत्वपूर्ण कार्यक्रम आफ्ना प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाएकोमा खुशी व्यक्त गर्दै वित्तीय पारदर्शिता प्रवर्द्धन, सरकारी प्राथमिकतामा सहकार्य तथा सुरक्षित र समावेशी डिजिटल वित्तीय सेवामार्फत औपचारिक अर्थतन्त्र विस्तारमा कम्पनी प्रतिबद्ध रहेको बताए।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आईएमई खल्ती लिमिटेड ‘Khalti by IME’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको छ। कम्पनीका अनुसार हाल यसको १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेका छन्, जसले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्स तथा अन्य वित्तीय सेवाहरू प्रयोग गर्दै आएका छन्।
प्रकाशित समय : १३:२३ बजे





















