नेपालको पहिलो राष्ट्रिय खाद्य बैंकले बोलायो साधारण सभा- आईपीओ निष्कासन पहिलो एजेण्डा
वि.सं.२०८२ असोज १ बुधवार
काठमाडौं । नेपालको पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले यही असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो ।
उक्त साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसबाहेक बैंकले सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायत प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार बैंकले पुँजी विस्तार र सर्वसाधारणलाई सहभागि गराउने उद्देश्यले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने भएको हो । सभाबाट प्रस्ताव पारित भएपश्चात् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणबाट पुँजी संकलन गर्ने तयारी थाल्ने छ ।
बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी पुर्याउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको हो । आईपीओ मार्फत संकलन गरिएको पैसा खाद्य बैंकले कृषि क्षेत्रमा लगानी गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले भने, ‘आईपीओबाट पुँजी जुटाएर कृषि उत्पादनदेखि ब्राण्डिङमा लगानी गर्छौँ । अहिले कोशीमा दाना उद्योग सञ्चालन गरेका छौँ । थप ६ प्रदेशमा पनि यस्तो उद्योग सञ्चालन गर्ने हाम्रो योजना छ ।’
खाद्य बैंकले निष्काशन गर्ने आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ मूल्य कायम रहने छ । साथै खाद्य बैंकले तेल मिल समेत सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ । साथै बैंकले स्थानिय सरकारसँग समन्वय गर्ने लक्ष्य समेत राखेको छ ।
प्रकाशित समय : १८:०६ बजे






















