१६ बैंकका कर्मचारीको तलब बढ्यो, नबिल र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब बढि
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंकका कर्मचारीहरूको तलब झण्डै १ अर्ब रुपैयाँले बढेको छ ।
गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशतले बढेको हो ।
देशमा संचालित २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् ।
गत वर्षको सोही अवधिमा बैंकहरूले १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए ।
चालु आवको यस अवधिमा बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । चालु आवको असोजसम्मा १६ वटा बैंकको कर्मचारी खर्च बढेको देखिन्छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको छ ।
तीन महिनामा कर्मचारी खर्च सबै भन्दा बढी नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । दुई बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी छ । सोही अवधिमा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले कर्मचारी खर्च घटाएको देखिन्छ ।
सोहि अवधिमा एनआईसी एशिया बैंककोे कर्मचारीकालागि २४ करोड ३९ लाख रुपैयाँ खर्च बढेको छ । गत वर्ष बैंकको कर्मचारी खर्च ६६ करोड रुपैयाँमात्रै कर्मचारीलाई तलब दिएको थियो । यस वर्ष बैंकले ९० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको ९४ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको ४५ करोड ६७ करोड रुपैयाँ, हिमालयन बैंकको ७५ करोड रुपैयाँ, कुमारी बैंकको ९६ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई भुक्तानी गरेका छन् ।
सिद्धार्थ बैंकको ६८ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब १० करोड रुपैयाँ, प्रभु बैंकको ९३ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकको ४० करोड २७ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् ।
एभरेष्ट बैंकले ४९ करोड ५० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २८ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकले ५६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७६ करोड ३९ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ ।
यस्तै, सिटिजन्स बैंकले ४० करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकले ९१ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकले ८९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।
ग्लोबल आइएमई बैंकको ९३ करोड ३६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६० करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३६ करोड ३ लाख रुपैयाँ र नबिल बैंकको १ अर्ब ११ करोड रुपैयाँ तलब भुक्तानी गरेको सार्वजनिक तथ्यांकमा छ ।
प्रकाशित समय : १६:५६ बजे





















