नेपालमा नयाँ ‘नामी भिगो ई २’ सार्वजनिक: ५ लाख सस्तियो मूल्य, नाडा अटो शोमा ३५.९९ लाखमै पाइने
नयाँ मोडल सार्वजनिक भएसँगै यो गाडी यसअघि बिक्री भइरहेको बेस भेरियन्टभन्दा करिब ५ लाख रुपैयाँ सस्तो भएको छ ।
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामी ब्रान्डको नयाँ र सस्तो ईभी संस्करण ‘नामी भिगो ई २’ आधिकारिक रूपमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ । कम्पनीले यस अघिका भेरियन्टहरू भन्दा आकर्षक मूल्य निर्धारण गर्दै नयाँ एसयूभीलाई बजारमा उतारेको हो ।
कम्पनीले नामी भिगो ई २ को बजार मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि यो सुरुवाती मूल्य नाडा अटो शो को अवधिभरका लागि मात्र लागू हुनेछ । अटो शो पछि भने यसको आधिकारिक मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले प्रस्ट पारेको छ ।
नयाँ मोडल सार्वजनिक भएसँगै यो गाडी यसअघि बिक्री भइरहेको बेस भेरियन्टभन्दा करिब ५ लाख रुपैयाँ सस्तो भएको छ । यसअघि नेपाली बजारमा भिगो ई २ भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ र भिगो ई २ प्लस भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
कम्पनीले नामी भिगोको यो नयाँ संस्करणलाई पूर्ण एसयूभी (फुल एसयूभी) को रूपमा नेपाली बजारमा स्थापित गर्ने लक्ष्य राखेको छ । मुख्यतया गाडीमा रहेको मुनरुफ हटाएर यो संस्करण तयार गरिएकाले यसको उत्पादन लागत र बजार मूल्य दुवै उल्लेखनीय रूपमा घट्न पुगेको हो । मुनरुफ बाहेक गाडीमा उपलब्ध अन्य आधुनिक फिचर, प्रविधि र सुरक्षाका मापदण्डहरू भने अघिल्ला भेरियन्टहरूकै जस्तै यथावत् राखिएका छन् ।
कार्यक्षमताका हिसाबले नामी भिगो एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरका दुई फरक ब्याट्री अप्सन उपलब्ध गराइएको छ । डब्लूएलटीपी (WLTP) मापदण्ड अनुसार यी ब्याट्रीले क्रमशः ३०० किलोमिटर र ३५० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने प्रमाणित भइसकेको छ । द्रुत चार्जिङका लागि यसमा १६७ किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने प्रविधि दिइएको छ ।
गाडीको भित्री बनावट र इन्फोटेनमेन्ट प्रविधि निकै आधुनिक छ । यसमा १२.८ इन्चको मुख्य इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्फर्मेशन डिस्प्ले र सुरक्षाका लागि ३६० डिग्री क्यामेरा समावेश छ । एयर कन्डिसनर (एसी) प्रयोगका लागि चालकले न्याभ, रेस्ट र स्नो गरी तीन मोडहरू छनोट गर्न सक्छन् । यसका साथै कार र कनेक्टेड मोबाइललाई सोझै भ्वाइस कन्ट्रोल (आवाजको कमाण्ड) मार्फत नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध छ ।
प्रिमियम तथा लक्जरी अनुभवका लागि यसमा ५० वाटको फास्ट वायरलेस चार्जिङ, वान-टच रियर सिट फोल्ड र अगाडिका दुवै सिटलाई पूर्ण रूपमा बेडको रूपमा ढाल्न सकिने सुविधा छ । यस सेग्मेन्टमै पहिलो पटक उपलब्ध गराइएका फिचरहरूमा वेलकम र मेमोरी सिट, म्युजिकसँगै ताल मिलाएर बल्ने एम्बियन्ट लाइट, विशेष डिजाइनको ‘हेभन एण्ड अर्थ’ टेलगेट र थ्रीसी (3C) फास्ट चार्जिङ प्रविधि रहेका छन् । बाहिरसम्म सुनिने गरी यसमा एक्सटर्नल स्पीकर समेत जडान गरिएको छ ।
चालकको सहजताका लागि गाडीमा एडास लेभल टु (ADAS Level 2) प्रविधि, वाइफाइ कनेक्टिभिटी, र हिटेड तथा भेन्टिलेटेड ड्राइभर सिट दिइएको छ । १८ इन्चको आकर्षक ह्वील, वेलकम साउण्ड, र रातिको समयमा आफैं अटोमेटिक हाइ र लो बीम छनोट गर्ने हेडलाइटले यात्रालाई थप सुरक्षित र सुगम बनाउँछ । सामान राख्नका लागि गाडीभित्र विभिन्न ३५ स्थानमा साना-ठूला स्टोरेज स्पेसहरू तयार पारिएका छन् । यसको बाहिरी लुक्सलाई टी (T) आकारको एलईडी हेडल्याम्प र ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले भिन्न पहिचान दिएका छन् ।
यात्राको प्रकृति अनुसार परिवर्तन गर्न सकिने गरी इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन ड्राइभिङ मोडहरू दिइएका छन् । त्यस्तै स्टेरिङको प्रतिक्रिया अनुकूल बनाउन क्लाम, स्ट्यान्डर्ड र कम्फर्ट गरी तीन प्रकारका स्टेरिङ मोडहरू समेत उपलब्ध छन् ।
सुरक्षाको दृष्टिकोणले नामी भिगो एसयूभी निकै सुदृढ देखिन्छ । यसमा ६ वटा एयरब्याग, एडास प्याकेज अन्तर्गतका सम्पूर्ण सुरक्षा फिचरहरू, ३६० डिग्री क्यामेरा, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल जस्ता अत्याधुनिक प्रणालीहरू एकीकृत गरिएका छन् । मूल्य घटेर बजारमा आएकाले यसले मध्यम बजेटका ईभी ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : २१:४४ बजे






















