नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने
वि.सं.२०८३ साउन २१ बिहीवार
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा पन्च ईभी (२०२६ फेसलिफ्ट) नेपाल भित्र्याएको छ। कम्पनीले औपचारिक घोषणा नगरे पनि नयाँ मोडल सडक परीक्षणका क्रममा देखिएको छ। आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६मा यसलाई सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
भारतमा यस वर्ष सार्वजनिक गरिएको नयाँ पन्च ईभीमा ब्याट्री, रेन्ज, चार्जिङ क्षमता तथा प्रविधिमा उल्लेखनीय सुधार गरिएको छ। यसअघि उपलब्ध २५ र ३५ किलोवाट–आवर ब्याट्रीको सट्टा अब ३० र ४० किलोवाट–आवरका दुई विकल्प उपलब्ध छन्।
३० किलोवाट–आवर संस्करणले एआरएआईअनुसार २८० किलोमिटर तथा कम्पनीका अनुसार वास्तविक प्रयोगमा ३६५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। ४० किलोवाट–आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज ४६८ किलोमिटर रहेको छ भने वास्तविक सडकमा ३३५–३५५ किलोमिटरसम्म चल्ने बताइएको छ।
नयाँ पन्च ईभीमा थप शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ९ सेकेन्डमा पुर्याउन सक्छ। यसमा तीनवटा ड्राइभ मोड, चार तहको रिजेनेरेटिभ ब्रेकिङ, १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएमसम्मको वाटर वेडिङ क्षमता उपलब्ध छ।
चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। कम्पनीका अनुसार डीसी फास्ट चार्जरमार्फत २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ भने १५ मिनेटको चार्जबाट करिब १३५ किलोमिटरसम्म यात्रा गर्न सकिनेछ। कम्पनीले देशभर चार्जिङ पूर्वाधार विस्तार भइरहेको जनाएको छ।
फिचरका हिसाबले नयाँ पन्च ईभीमा एलईडी हेडलाइट, कनेक्टेड एलईडी टेललाइट, १६ इन्च अलोय ह्विल, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, भेन्टिलेटेड सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता सुविधा समावेश छन्।
सुरक्षातर्फ ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम (TPMS), आइसोफिक्स चाइल्ड सिट माउन्ट तथा ३६० डिग्री क्यामेरा जस्ता फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्। कम्पनीले नयाँ पन्च ईभीको नेपाली बजारका लागि मूल्य, भेरियन्ट तथा उपलब्धताको औपचारिक घोषणा भने गरेको छैन। यी विवरण नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को अवसरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रकाशित समय : २०:५४ बजे





















