चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान,४ महिनामै भित्रिए १ हजार भन्दा बढी

वि.सं.२०७९ मंसिर १४ बुधवार

काठमाडौं । कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना यता नेपालमा यस्ता गाडी आउन सकिरहेका छैनन् । यी गाडी नेपाल आउन नपाएपछि यसको सिधा फाइदा इलेक्ट्रिक कार आयातकर्तालाई पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल १ हजार १८ युनिट इलेक्ट्रिक कार आयात भएसँगै यो वर्ष यस्ता कारको बिक्री ३ हजार युनिट नाघ्ने अनुमान लगाइएको छ ।
जुन हालसम्मकै वढी युनिट हुनेछ । अघिल्लो आर्थिक वर्षमा १ हजार ५ सय युनिट हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए ।
चालु आर्थिक वर्षको चार महिनामा सवैभन्दा बढी इलेक्ट्रिक कार भारतबाट आयात भएको छ । भारतबाट टाटा नेक्सन र टिगोर ईभी गरी कुल ६८९ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । भारतपछि कोरियाबाट यस्ता कार दोस्रो बढी संख्यामा नेपाल आएका छन् । यो अवधिमा कोरियाबाट कोना र आयोनिक ५ गरी कुल १६५ युनिट कार नेपाल आएका हुन् ।
तेस्रो धेरै युनिट चीनबाट आयात गरिएको छ । चीनबाट बीवाईडी, एमजी, नेटा भी लगायत ब्रान्डका कार आयात भैरहेका छन् । यो अवधिमा चीनबाट १६२ युनिट यस्ता कार आयात भएको उल्लेख छ । अमेरिकाबाट भने जम्मा २ युनिट टेस्ला आयात भएको देखिन्छ ।
यसरी आयात हुने कारको ठूलो हिस्सा १ सय किलोवाट भन्दा कम मोटर जडितले ओगटेको छ । उक्त मोटर क्षमतासम्मका कारमा जम्मा १५ प्रतिशतमात्र भन्सार दर लाग्ने नियमका कारण बजारमा यस्ता कारको माग समेत बढी छ । चार महिनामा आयात भएको इलेक्ट्रिक कारमध्ये जम्मा २५ युनिटमात्र एकसय किलोवाट बढी क्षमताका छन् ।
कम क्षमताका मोटर जडित इलेक्ट्रिक करको माग अत्यधिक संख्यामा भएपनि आयातकर्ता कम्पनीले सप्लाई भने गर्न सकिरहेका छैनन् ।
बजारमा अहिले पनि नेक्सन र टिगोर ईभी वुक गरेर वस्ने ग्राहक ५ सय हाराहारी रहेको बताइएको छ । टाटाले सप्लाइलाई सहज वनाएको अवस्थामा वार्षिक ३ हजार भन्दा बढी युनिट त यी कार नै विक्री हुने देखिन्छ । जसले ईभीको बजारलाई झनै गति दिने अनुमान गर्न सकिन्छ ।

प्रकाशित समय : १२:०४ बजे