बोर्ड अध्यक्ष ढुंगाना निलम्बित
वि.सं.२०७८ भदौ १७ बिहीवार
काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । सर्वाेत्तम सिमेन्टको भित्री कारोबारमा संलग्न रहँदा पनि आफूले कानूनविपरीत काम नगरेको जिकिर गरी राजीनामा नदिई पदमै बसिरहेको बेला सरकारले उनलाई निलम्बन गरेको हो । निलम्बनसँगै उनलाई बर्खास्त गर्ने गरी उच्चस्तरीय छानबिन समिति समेत समेत गठन भएको छ ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालयको प्रस्तावमा बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्दै उनको संलग्नतामा भएको गैरकानूनी कामको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।
उक्त समितिमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डूम्रेको अध्यक्षतामा तीन सदस्य रहेका छन् ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुुर कार्कीले समितिमा विज्ञ सदस्यको रुपमा नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेको बताए ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका सरकारका प्रवक्ता कार्कीले धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ मा भएको व्यवस्था अनुसार छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । यो उपदफामा धितोपत्र बोर्डका अध्यक्षका कुनै पनि गतिविधिले बोर्ड र पूँजीबजारको अहित भएमा वा भएको ठानिएमा त्यसको छानबिन गर्न समिति गठन गर्न सक्ने र सो समितिले छानबिनमा दोषी देखिएको आधारप्रमाणसहित सिफारिस गरेमा अध्यक्षलाई पदबाट हटाउन सकिने व्यवस्था समेत रहेको छ ।
यसअघि अर्थमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एक छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा अध्यक्ष ढुंगाना दोषी देखिएका थिए । सो समितिले अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनमा ५१ वटा कम्पनीलाई जोखिमपूर्ण भन्दै सूची प्रकाशनमा समेत ढुंगाना विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेको निश्कर्ष निकालिएको छ । प्रतिवेदनमा ढुंगाना गैरकानूनी काममा सक्रिय देखिएको निश्कर्ष आएपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रीपरिषदले उनलाई निलम्बनको निर्णय गरेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पछिल्लो समय बुक बिल्डिंग विधिबाट आइपीओ निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत आफ्नी छोरीको नाममा खरीद गरेपछि विवादमा तानिएका थिए ।
यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बोर्डको संचालक सदस्यमा रहेका चन्द्र ढकालले राजिनामा दिईसकेका हुन् ।
२०७८ भदौ १७ गते प्रकाशित
प्रकाशित समय : १०:३३ बजे






















