महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ भ्रम होः स्वास्थ्य मन्त्रालय
वि.सं.२०७८ साउन १ शुक्रवार
काठमाडौँ । त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ वास्तविक नभएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सुचना नै जारी गरेर कम्पनीले बजारमा ल्याएको उक्त कोरोना गार्ड प्रयोग नगर्न आग्रह गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको उक्त कम्पनीले बिहीबार विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरस संक्रमण रोक्ने भन्दै उक्त उपकरण(कोरोनागार्ड) सार्वजनीक गरिएको थियो । कोरोनागार्डले ओगट्ने एक हजार स्वायर फिट क्षेत्रफलमा कोरोनालगायतका कुनै पनि भाइरस नसर्ने र मास्क लगाउनु नपर्ने भन्दै भ्रामक एड्भोटोरियल प्रकाशित गरेको थियो ।
सार्वजनिक विज्ञापनमा ‘एक हजार स्वायरफिटको क्षेत्रफलसम्म बिनाकुनै मास्कको प्रयोग नै दैनिक कार्य र व्यवहार सञ्चालन गर्न सक्दछौं, यसको प्रयोगले श्वासप्रश्वासको माध्यमबाट फैलिने कोरोना भाइरस तुरुन्त निष्क्रिय भई सो क्षेत्रफलभित्र उपस्थित रहने सम्पूर्ण जीवजन्तु भाइरसको प्रकोपबाट मुक्त रहनेछन् । यो कोरोनागार्ड कुनै पनि भाइरसलाई नियन्त्रण र निष्प्रभावी बनाउन सक्षम छ,’ भनि लेखिएको छ ।
कम्पनीले डेलिभरी, जडान र भ्याट सहित ४० हजार रुपैयाँ पर्ने उक्त कोरोनागार्डको बुकिङ खुला गरेको हो । कम्पनीले हाल भारतबाट कोरोनागार्ड ल्याउने तयारी गरिरहेको छ । कम्पनी स्रोतका अनुसार एउटा कोरोनागाार्ड ल्याएर कार्यालयमै गरिएको परीक्षणमा सफलता प्राप्त भएपनि आयात गर्न लागिएको हो ।
कम्पनीले बिहीबार उक्त विज्ञापन जारि गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोनागार्ड’बारे गरिएको भ्रामक विज्ञापनमा नफस्न सार्वजनिक सूचना जारी गरेको हो ।
मन्त्रालयद्धारा जारि सूचना

२०७८ साउन १ गते प्रकाशित
प्रकाशित समय : ०६:०८ बजे





















