सुजिता भण्डारीको मृत्यु प्रकरणले लियो नयाँ मोड, आत्महात्या गरेको आशंका
वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । शव भेटिनुभन्दा नौ दिन अगाडी अपहरणमा परेकी भनिएकी उनको पोष्टमार्टम रिपोर्ट स्पष्ट हुन नसकेपछि प्रहरीले आत्माहत्याको आशंका गरेको हो ।
फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले उनको मृत्यु चोटपटकबाट नभएको बताएका छन् । पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । भिसेरा जाँच मृत्युको कारण स्पष्ट नभएको अवस्थामा गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुन्छ ।
यता, आइतबार भण्डारीको शव भेटिए नजिकै पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा विषको बट्टा भेटिएको थियो ।
पोष्टमार्टम रिपोट स्पष्ट नहुनुका साथै चोटपटक नलागेको देखिनु र शव नजिकै विषको बट्टा भेटिनुले मृत्य रहस्यमय भएको हो । भण्डारीले सोही विष खाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले विष खाएको भए भिसेरा परीक्षणबाट पुष्टि हुने बताएको हो ।
प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको पनि कुनै संकेत देखिएन ।
२०७८ असार २३ गते प्रकाशित
प्रकाशित समय : ०७:११ बजे





















