वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,
वि.सं.२०८३ साउन २१ बिहीवार
काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि नै चिनियाँ अटो निर्माता वुलिङ ले नेपाली बजारमा आफ्नो पहिलो पूर्ण विद्युतीय ७ सिटे एमपीभी ‘डारियोन ईभी’ भित्र्याएको छ। वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स ले एक्स्पोमा औपचारिक सार्वजनिक गर्ने तयारीस्वरूप गाडी नेपाल ल्याएको हो।
नेपाली बजारमा विद्युतीय एसयूभी र ह्याचब्याकको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वुलिङले ठूलो परिवार र व्यावसायिक प्रयोग दुवैलाई लक्षित गर्दै नयाँ सेग्मेन्टमा प्रवेश गरेको हो। सात सिट क्षमता, फराकिलो क्याबिन र पर्याप्त बुट स्पेसका कारण डारियोन ईभी पारिवारिक यात्रादेखि होटल, ट्राभल तथा कर्पोरेट प्रयोगसम्म उपयुक्त हुने अपेक्षा गरिएको छ।
फिचरतर्फ डारियोन ईभीमा एलईडी हेडल्याम्प, ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ, कनेक्टेड कार प्रविधि तथा विभिन्न आधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ। आवश्यकताअनुसार सिट मिलाउन सकिने फ्लेक्सिबल सिट कन्फिगरेसन यसको अर्को विशेषता हो।
पारामाउन्ट मोटर्सका अनुसार गाडीको मूल्य, ब्याट्री क्षमता, एकपटकको चार्जमा गुड्ने दूरी, चार्जिङ क्षमता लगायतका विस्तृत प्राविधिक विवरण नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिनेछ।
नेपालमा सात सिटे विद्युतीय गाडीको विकल्प सीमित रहेका बेला वुलिङ डारियोन ईभीको आगमनले यो सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ। विशेषगरी ठूलो परिवार तथा व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडी रोज्ने ग्राहकको रोजाइमा यो मोडल पर्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित समय : २०:४१ बजे





















