अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि
वि.सं.२०८३ साउन २१ बिहीवार
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अघिल्लो वर्षको तुलनामा ४ हजार ५५८ दशमलव ८७ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको छ। अघिल्लो वर्ष चौथो त्रैमाससम्म ३० लाख ६१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म भने १४ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि देखिनुको मुख्य कारण भने इम्पेरमेन्ट चार्ज वापत्को रकम फिर्ता रहेको छ । सम्भावित जोखिमका लागि अघिल्लो वर्ष ४ करोड ६० लाख रुपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्ज वापत्को रकम छुट्याएको कम्पनीले गत वर्ष भने सोही वापत्को १ करोड ९९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि २ हजार ३२४ दशमलव ८३ प्रतिशतले बृद्धि भएर १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएको छ ।
ब्याज आम्दानी पनि गत वर्ष ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढी छ । जुन रकम अघिल्लो वर्ष ३३ करोड ६८ लाख रुपैयाँभन्दा बढी थियो । खुद नाफामा उल्लेख्य सुधार भएको कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक अवस्थाबाट सुधारिएको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष सोही अवधिसम्म सुधार भएर ४ करोड ५२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १० करोड १६ लाख रुपैयाँभन्दा बढी रकम कायम छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको जगेडा कोष रकम ९० प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ५ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।
गत चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ४१ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५९ करोड ७२ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीको कर्जा सापटी भने २ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी छ ।
निष्क्रिय कर्जा पनि गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ८ दशमलव ४१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष घटेर ७ दशमलव ४१ प्रतिशतमा झरेको हो । वार्षिक प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५८ रुपैयाँ ७५ पैसा छ ।
यस कम्पनीले देशभरमा २१ ओटा जिल्ला आफ्नो सेवा विस्तार गरिसकेको छ । यी जिल्लाहरुमा ६० ओटा शाखा अन्तर्गत ३८ हजार १६९ सदस्यहरुमा लघुवित्त सेवा प्रदान गरिरहेको कम्पनीले यस अवधिसम्म १९ हजार ४०२ जनाहरुमा कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।
प्रकाशित समय : १३:२८ बजे





















