नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’
वि.सं.२०८३ असार ३० मंगलवार
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको दीगो विकास र विद्यमान अन्योल चिर्न आजभोलिभित्रै विशेष कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजारको संवेदनशीलता र लगानीकर्ताको भावनालाई मध्यनजर गर्दै दुई दिनभित्रै बजार अनुकूलको कार्ययोजना ल्याइने जानकारी दिएका हुन् ।
अध्यक्ष डा. भट्टले आफू लगानीकर्ताहरूसँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै सम्भव भएसम्म आजै, नभए भोलिसम्ममा बजार विकासको स्पष्ट मार्गचित्र बाहिर ल्याउने प्रतिबद्धता जनाए ।
समय तोकेरै सुधारको एजेन्डा
“धितोपत्र बोर्ड अहिले स्पष्ट कार्ययोजना र मार्गचित्र निर्माणको अन्तिम तयारीमा जुटिरहेको छ,” अध्यक्ष डा. भट्टले भने, “यस कार्ययोजनामा हामीले समय नै तोकेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, बोर्डको संस्थागत एवं नीतिगत सुधार, नयाँ प्रविधिको विकास तथा बजारमा कारोबारका विविध नयाँ उपकरणहरू (टूल्स) भित्र्याउने जस्ता विषयहरूलाई ठोस रूपमा समेट्नेछौँ ।”
उनले बोर्डले आगामी एक वर्षभित्र सम्पादन गर्ने कार्यहरूलाई प्राथमिकीकरण गरी तदारुकताका साथ अघि बढाउने स्पष्ट पारे । लगानीकर्ताहरूलाई संयम र धैर्य रहन आग्रह गर्दै उनले सरकारको बजेट वक्तव्यमा उल्लेख गरिएका पूँजी बजारसम्बन्धी नीतिगत विषयहरूलाई समेत समेटेर मार्गचित्र ल्याइने बताए ।
लगानीकर्ताको दबाब र बोर्डको प्रतिबद्धता
सेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरूको एक समूह आजै ललितपुरको खुमल्टारस्थित धितोपत्र बोर्डको कार्यालय घेराउ गर्न पुगेको थियो । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको सो समूहले बजारमा आम लगानीकर्ताको मनोबल उकास्ने गरी तत्काल प्रभावकारी र ठोस कार्ययोजना ल्याउन बोर्ड नेतृत्वलाई सुझाव र दबाब दिएको छ ।
कोइरालासँगको टेलिफोन कुराकानीका क्रममा पनि अध्यक्ष डा. भट्टले लगानीकर्ताका सुझावहरूलाई समेट्दै आजभोलिभित्रै बजार अनुकूलको कार्ययोजना ल्याउने प्रतिबद्धता दोहोर्याएका थिए ।
८ महिनाकै न्यून विन्दुमा नेप्से
पछिल्लो समय सेयर बजारमा लगातार सुस्तता छाएको छ । सोमबार नेप्से सूचक करिब ८ महिना यताकै न्यून विन्दुमा झरेको छ । सोमबार कायम भएको नेप्सेको २५७०.०० अंक गत मंसिर ४ गतेयताकै सबैभन्दा कम हो । यसअघि मंसिर ४ गते नेप्से २५६०.०० अंकको विन्दुमा रहेको थियो । लगातार बजार घटेपछि त्रासमा रहेका लगानीकर्ताहरू नियामक निकायबाट तत्काल ठोस र सकारात्मक हस्तक्षेपको पर्खाइमा छन् ।
प्रकाशित समय : १४:४८ बजे





















