नेपाल एसबिआई बैंकद्वारा बाल मन्दिर नक्सालका बालबालिकालाई न्यानो कपडासहित अत्यावश्यक सामग्री सहयोग
वि.सं.२०८२ पुस २३ बुधवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्युरिफायरलगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ।
यस पहलले बालबालिकाको तत्काल आवश्यकताहरू पूर्ति गर्नुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य बैंकले लिएको जनाएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रूपमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो।सो अवसरमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्य लगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको जनाएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
प्रकाशित समय : ११:३५ बजे






















