राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने
सञ्चालक समिति बैठकको निर्णयबाट ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ स्वीकृत भएको हो ।
वि.सं.२०८१ चैत २२ शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहकारी संस्थाका लागि निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकको गत चैत ४ गते बसेको सञ्चालक समिति बैठकको निर्णयबाट ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ स्वीकृत भएको हो ।
यो निर्देशिका जारी भएपश्चात सहकारी संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ भने बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने छ तर यसरी ऋण लिँदा पुँजीकोषको शतप्रतिशत भन्दा बढी ऋण लिन नपाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यसैगरी, सहकारी संस्थाले साधारण, नियमित र तीन वर्ष अवधिसम्मका आवधिक प्रकारका बचत खाताहरु सञ्चालन गर्न सक्ने तर नियमित वचतको अंश कुल वचतको न्यूनतम पच्चीस प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार संस्थाले स्वीकार गर्ने बचत परिचालन सम्बन्धी कार्यविधि साधारणसभाबाट स्वीकृत गराई लागु गर्नुपर्नेछ ।
‘संस्था विगत तीन वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालनमा रहेको, सञ्चित नोक्सानी नरहको र न्यूनतम पुँजीकोष कायम रहेको अवस्थामा प्राथमिक पुँजीको बढीमा २५ प्रतिशत वा जगेडा कोषको बढीमा ५० प्रतिशतसम्म (जुन कम सोही बराबर) हनु आउने रकम बराबरको जग्गा/भवन कार्यालय प्रयोजनका लागि प्रतिस्पर्धात्मक विधिबाट पारदर्शी रुपमा खरिद/निर्माण गर्न सक्नेछ ।
उपरोक्त शर्तहरु विपरीत सम्पत्ति खरिद/निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजी गणना गर्दा घटाउनु पर्नेछ । सम्पत्ति खरिद/निर्माण गर्दा साधारणसभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्नेछ र सम्पत्ति खरिद/निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्नेछ’ जारी निर्देशिकामा भनिएको छ ।
त्यस्तै, सहकारीमा बचत गर्ने सदस्यले दश लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने उल्लेख छ ।
प्रकाशित समय : ११:१० बजे





















