ज्योति विकास बैंकको १७ औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खड्का नियुक्त
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाण्डौं । ज्योति विकास बैंकको १७ औं साधारणसभा सम्पन्न भएको छ । बैैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः हरिचन्द्र खड्का नियुक्त भएका छन् ।
सभाले बैंकको संस्थापक शेयरधनी समुहको तर्फबाट खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
साथै, सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरि चन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए ।
सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको आ.व. २०८१/८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।
साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ–आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरे । शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिए ।
प्रकाशित समय : १८:४५ बजे





















