back

‘नीति कार्यान्वय हुन नसक्नु नै अर्थतन्त्रको मूल समस्या हो’ : पूर्व अर्थसचिव बास्कोटा

नेपालले खुला अर्थतन्त्र अवलम्बन गरिरहेको छ । खुला अर्थतन्त्रबाट फर्केर नियन्त्रणात्मक व्यवस्थामा फर्किन नसक्ने भएकाले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्दा अथाह सम्भावना छ ।

nactional life

वर्तमान आर्थिक अवस्था
कुनै पनि मुलुकको अर्थतन्त्रको अवस्था हेर्न केन्द्रीय बैंकको तथ्यांक केलाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८१÷८२ को पहिलो दुई महिनाको समष्टिगत अर्थतन्त्रको सूचकहरू हेर्ने हो भने अहिले बजारमा औसत मूल्य वृद्धिदर ३.८ प्रतिशत मात्रै छ । यसले महँगी सीमाभित्रै रहेको देखाउँछ । ज्यालाको दर २५ प्रतिशतले बढेकाले मूल्यवृद्धिबाट आमजनतालाई ठुलो आहत पुगेको देखिँदैन । तर, दैनिक उपभोग्य २९ वस्तुको सर्वसुलभ र गुणस्तरीय आपूर्तिमा भने सरकारले विशेष ख्याल राख्नुपर्ने देखिन्छ ।

कोभिडअघि करिब २० खर्ब बराबरको आयात र करिब तीन खर्ब रुपैयाँबराबरको निर्यातको स्थिति थियो । तर, कोभिडपछि आयात १.१ प्रतिशतले बढ्दा निर्यात ५.१ प्रतिशतले घटेको देखिन्छ । नेपालमा सिमेन्ट, फलाम, क्लिङ्करलगायत निर्माण सामग्री उत्पादन वृद्धि र विकास निर्माणको काममा सुस्तता आउँदा डोजरलगायत ठुला उपकरणहरू आयात नहुँदा समग्रमा आयात घटेको देखिन्छ । विकास निर्माणको काम अघि नबढ्दा पुँजीगत खर्च पनि बढ्न सकेको छैन ।

अर्कोतिर उत्पादन घटेका कारण निकासी सामान्य घटेको देखिन्छ । दाल धेरै उत्पादन भयो भन्ने अवस्था नभए पनि सबैभन्दा बढी निकासी हुने वस्तुमा परेको छ । नेपालले जडीबुटीहरू निकासी गर्नुपर्ने देखिन्छ । घरेलु उत्पादनका सामग्रीहरू र नेपाली कागजका विभिन्न सामग्री निकासी गर्न सकिने वस्तु हुन् । खासगरी खानीजन्य पदार्थको उत्पादनलाई बढावा दिन सके निकासीलाई प्रोत्सहान पुग्छ । पछिल्लो समय थोरै परिमाणमा भए पनि विद्युत् निकासी हुन थालेकाले नेपाली अर्थतन्त्रलाई केही सहयोग गर्ने देखिन्छ ।

परम्परागत रूपमा नेपाली तयारी पोसाकहरू अमेरिकासम्म पुगेको इतिहास छ । गलैंचा जर्मनीलगायत मुलुकमा जान्थ्यो । तर, पछिल्लो समय निर्यात भएको देखिँदैन । विगतमा नेपालबाट भारतलगायत मुलुकमा निर्यात हुने कृषिजन्य सामग्रीहरू अम्रिसोको कुचो, चिया, कफी, सुन्तलाजस्ता वस्तुहरूमा पनि अवरोध सिर्जना भएकाले निर्यातमा समस्या देखिएको छ ।

पछिल्लो समय विप्रेषणको आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ । जसले गर्दा हाम्रो कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ (१६ अर्ब ४ करोड अमेरिकी डलर) छ । केही विश्लेषक रेमिट्यान्सबाट आउने पैसा सधैं नआउने र कुनै बेला सुक्खासमेत हुन सक्ने बताउँछन् । तर, नेपाली कामदारहरूलाई उच्च प्रकारको नभई न्यून प्रकारको श्रमिक प्रकृतिकै काम र सेवासुविधा दिएका कारण विश्व बजारबाट तत्काल हट्ने अवस्था रहँदैन । अवैध प्रणालीलाई नियन्त्रण गरी बंैकिङ प्रणालीबाट रेमिट्यान्स ल्याउने बाटो अपनाए राम्रै गर्छ ।

त्यस्तै नेपाल सरकारको खर्च अहिले ३७ अर्ब ५५ करोड र राजस्व परिचालन १६६ अर्ब ७९ करोड रहेको राष्ट्र वैंकको तथ्यांक छ । यसले अझै पनि चालु खर्च हुने र पुँजीगत खर्च नहुने प्रवृत्ति देखाएको छ । चालु खर्च नियन्त्रण गर्नैपर्ने बाध्यतामा सरकार रहेका कारण मितव्ययिताको सिद्धान्त अवलम्बन गर्नुका साथै पुँजीगत खर्च बढाउन देखिएका अवरोधहरू हटाउनुपर्ने आवश्यकता छ ।

दोस्रो जनआन्दोलनपछि उच्च विन्दुमा राजस्व संकलन गर्दै आएकामा आर्थिक वर्ष ०६५/६६ मा सबैभन्दा बढी ३३.३ प्रतिशत वृद्धि भएको थियो । वि.सं. २००८ मा सुवर्णशमशेरले बजेट ल्याएपछिको सर्वाधिक बढी राजस्व वृद्धि त्यसै बेला (अर्थमन्त्री डा. बाबुराम भट्टराई र राजस्व सचिव म स्वयं) भएको हो । त्यसबेला तत्कालीन सरकार भन्सार नाकामा दस्तुर लगायतमा हुने भ्रष्टाचार रोक्न कठोरतापूर्वक प्रस्तुत भएका कारण सम्भव भएको हो । यसबाट कर्मचारी प्रशासनमा तलमाथि गर्न पाइँदैन भन्ने डर तथा उत्प्रेरणाका कारण भन्सारमा गलत कार्य रोकिएको थियो । त्यसबेला राम्रो प्रदर्शन गरेका कारण भन्सारका कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता दिइएको थियो । भन्सारमा हुन सक्ने चुहावटलाई रोक्न राज्य प्रणालीबाट प्रोत्साहित हुने रकम दिँदाको असर राजस्व संकलनमा प¥यो ।

न्यून बीजकीकरण अन्तर्राष्ट्रिय रूपमै देखिने समस्या हो । त्यसैले करको दरभन्दा दायरा विस्तारमा जोड दिने गरिएको हो । भन्सार नाकाबाट जाँचपास भइसकेपछि पनि पुनः परीक्षण गर्ने विधि अपनाइन्छ । बजार अनुगमनलाई प्रभावकारी बनाइन्छ । विगतमा निजी क्षेत्रलाई दिनुपर्ने सहुलियतमा कन्जुस्याइँ नगरी निजी क्षेत्रलाई विश्वासमा लिएर राज्य प्रणालीका सुविधाहरू सजिलै पाउने वातावरण बनाइएको थियो । तर, करमा तलमाथि गरिएको खण्डमा निर्ममतापूर्वक दण्डित गर्ने व्यवस्था कार्यान्वयन भएको थियो । त्यसैबेला वार्षिक २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे विशेष कर लाग्ने व्यवस्था गरिएको हो ।

त्यसपछि सुरेन्द्र पाण्डे अर्थमन्त्री र म स्वयं राजस्व सचिव हुँदा २५ प्रतिशत राजस्व वृद्धि भएको थियो । पछिल्ला वर्षहरूमा राजस्व लक्ष्य पूरा नहुनुमा राजस्व असुलीमा छिद्रहरू देखिएको छ । आयकरको अधिकतम सीमा २५ प्रतिशत छ । यद्यपि बैंक, बिमा, चुरोट, रक्सी, कारोबार गर्नेलाई ३० प्रतिशत लाग्छ । व्यवसायीले पाउने सुविधामा कुनै कन्जुस्याइँ नगरी राजस्व चुुहावट हुन नदिने प्रबन्ध गर्नुपर्छ किनभने नेपालको अर्थतन्त्र त्यति खराब पनि छैन, ठीकै छ ।

हाल रुस र युक्रेनबीच युद्ध भइरहेको छ । युद्धको असर नेपालमा समेत आउनसक्छ । चामल, गहुँ, तेलको बढी उत्पादन गर्ने मुलुकहरूमा रुस, युक्रेन नै पर्छन् । यस्ता वस्तुको बजारमा अभाव हुँदा मूल्यवृद्धि हुन्छ । मूल्य नियन्त्रण गर्न नेपालकै कृषि उत्पादन बढाउनुुबाहेक अरू विकल्प छैन । कृषिको २० वर्षे योजना लागु गरिएको अवस्थामा कृषिलाई केन्द्रमा राखेर कृषिजन्य पदार्थमा आत्मनिर्भर हुने गरी अगाडि बढेको खण्डमा युक्रेन र रुसबीचको युद्धको प्रभावबाट जोगिन सक्छौँ । रुस, युुक्रेन पेट्रोलियम पदार्थका समेत खानी भएकाले नेपालमा समेत पेट्रोल, डिजेलको मूल्य बढ्न सक्ने र महँगीको मारमा पर्ने सम्भावना रहन्छ ।

नेपालमा अहिले सरकारी तथ्यांकअनुसार दुई हजार नौ सय मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । चाँडै अर्को पाँच हजार मेगावाट विद्युत् थप्ने अवस्थामा छौं । भारत र बंगलादेशमा विद्युत् निकासी गर्न सम्झौता भइसकेको छ । अहिले नेपालका घर–घरमा प्रयोग भइरहेको एलपी ग्यासलाई विस्थापित गरी विद्युतीय चुलोको प्रयोगलाई बढाई खपत बढाउन सकिन्छ । घरघरमा अन्य विद्युतीय उपकरणहरू प्रयोग गर्न सकिन्छ । त्यस्तै, विद्युतीय गाडीका सन्दर्भमा विभिन्न अफवाह आएकाले त्यसको प्रयोग बढाउन सकिरहेको अवस्था छैन । विश्वका विकसित मुलुकहरूमा शतप्रतिशत विद्युतीय सवारीसाधन प्रयोग भइरहेका बेला नेपालमा भने अफवाह फैलाएर पेट्रोल, डिजेलकै गाडी बेच्ने गरिएको छ । राज्यले त्यस्तो अफवाहलाई चिर्न सक्नुपर्छ ।

२१औँ शताब्दीको युग भनेको डिजिटल युग भएकाले संसार नै डिजिटल प्रविधिमा अगाडि बढेको छ । अब सबै नेपालीले नोटको कारोबार नगरी डिजिटल कारोबार गर्ने अवस्था सिर्जना गर्नुपर्छ । अब विस्तारै राष्ट्र बैंकले नोट छाप्न बन्द गर्नुपर्छ । पूरै डिजिटल गरेको खण्डमा आम्दानी÷खर्चको रेकर्ड देखिने भएकाले अख्तियार दुुरुपयोग अनुसन्धान आयोगलगायतले सम्पत्तिको स्रोत खोजी गर्नै नपर्ने हुन्छ । सम्पूर्ण कारोबारको रकम तथा जागिरेको तलबको रेकर्ड रहन्छ । डिजिटल प्रणालीमा गएर पारदर्शी ढंगले अर्थतन्त्र चलाउनु पर्छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले हालै सार्वजनिक गरेको मुुद्रा माग विधिबाट गरेको एक अध्ययन प्रतिवेदनअनुुसार अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा ४१.३१ प्रतिशत रहेको उल्लेख छ । यसले पनि देखाउँछ नेपालमा अझै ठुलो हिस्सा अनौपचारिक अर्थतन्त्र कारोबारको छ । निजी क्षेत्रले आफ्नो सम्पत्ति घोषणा गर्न दिन माग गरिरहेको छ । २०४८ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा सम्पत्तिसँग सम्बन्धित ऐन संसद्बाट पारित भए पनि आजसम्म नेपाल राजपत्रमा सूचना प्रकाशन भएको छैन । राजपत्रमा सूचना नआई ऐन कार्यान्वयन हुँदैन । कार्यान्वयनमा नआएको सम्पत्ति कर ऐनमा करिब ५० लाख सम्मको नगदमा सम्पत्ति कर नलाग्ने र करिब ५० लाखसम्म स्थिर सम्पत्तिमा पनि कर नलाग्ने उल्लेख छ । तर, ऐन लागु गर्न केही तयारी गर्नुपर्ने हुन्छ । सम्पत्ति घोषणा कसरी गराउने, सम्पत्ति घोषणा गर्दा असुरक्षा बढ्ने हो कि चिन्ता छ । सुरक्षा चुनौती समाधान गर्दै एकपटक सम्पत्ति घोषणा गरी कर तिर्न दिनुुपर्छ ।

भारतमा नोटबन्दी गरी एक हजार र पाँच सयको नोट नचल्ने बनाइयो । नेपालमा पनि एक हजार र पाँच सयको नोट छाप्ने कार्य रोक्नुुपर्छ किनकि सय÷सयको नोट कसैले अवैध रूपमा एक करोड लिन खोजेको अवस्थामा समस्या हुन्छ । जति महँगो नोट बनाइन्छ, त्यति लुकाउन सजिलो हुन्छ । ठुला नोटले अपारदर्शी कारोबार र भ्रष्टाचारलाई बढावा दिइरहेको छ ।

मुलुक संघीयतामा गएको लामो समय भइसक्यो तर, अझै सम्पत्ति कर संघ, प्रदेश अथवा स्थानीय सरकार कसले उठाउने भन्ने विवाद कायमै छ । यस्तो बेला सम्पत्ति कर लगाए के हुुन्छ ? सम्पत्ति राज्यको हुन्छ कि व्यक्तिको भन्ने प्रश्न छ ।

विकसित राज्यमा लामो अवधिका लागि जग्गा लिजमा दिने चलन छ । ९९ वर्षका लागि जग्गा लिजमा पाइन्छ, नेपालको जस्तो बाबुको जग्गाधनीपुर्जा छोरामा सर्ने, छोराको लालपुर्जा नातिकोमा सर्ने भन्ने हुँदैन । मानौं ती देशहरूमा कसैले चिया बगान चलाएको छ, उनी बिते वा उनको बगान बन्द भयो भने स्वतः त्यो जग्गा सरकारको हुन्छ । नेपालमा त निजीकरणका कुनै उद्योग चलायो र त्यस उद्योग बन्द भयो भने पनि जग्गा उसैको रहिरहने भन्ने विवाद भइराखेको छ । उदाहरणका लागि चोभारमा सिमेन्ट उद्योग खोल्न जग्गा अधिग्रहण गरियो । उद्योग बन्द भएपछि जनताले मुआब्जा फिर्ता गर्छौं, जग्गा फिर्ता गरिदेऊ भन्न थाले । यस्तो समस्याबाट बाहिर निस्कन, निश्चित प्रयोजनका लागि राज्यको जग्गा दिने र प्रयोजन सकिएपछि स्वतः राज्य प्रणालीमा आउने व्यवस्था लागु गर्नुपर्छ । डेनमार्क, फिनल्याड, नर्वेमा बाबुबाजेको सम्पत्ति छोरा–नातिले लिन चाहे भने सरकारलाई ६५ प्रतिशतसम्म कर तिरेपछि ३५ प्रतिशत सम्पत्ति उनीहरूकोमा जान्छ । त्यसैले कोही पनि झन्झटमा फस्न चाहँदैनन् ।

ग्रिसमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को १६ प्रतिशत सामाजिक सुरक्षा भत्ता दिइन्छ । इटालीमा कुल जीडीपीको १४ प्रतिशत खर्च भइरहेको छ । भारतमै पनि जीडीपीको ४ प्रतिशत खर्च भएको छ । नेपालमा जीडीपीको २ प्रतिशत खर्च हुन्छ । तैपनि नेपालका अर्थशास्त्रीहरू ज्येष्ठ नागरिकलाई मासिक ४/४ हजार रुपैयाँ भत्ता दिइराख्ने हो भने मुलुक टाट पल्टिन्छ भनेर वकालत गरिरहेका छन् ।

समस्यासँगै अनेकौं सम्भावना
नेपालको अर्थतन्त्रको पहिलो समस्या पुँजीगत खर्च नहुने हो । निजी क्षेत्र उद्योगमा लगानी गर्न उत्सुक नहुनु दोस्रो समस्या हो । त्यस्तै विदेशी लगानी (एफडीआई) नआउनुु अर्को समस्या हो । चौथो कृषि उत्पादनको उद्योगहरू खोल्न सकिएको छैन । कृषि उत्पादनको ग्रेडिङ, प्याकेजिङ, प्रोसेसिङ हुन सकेन भने जडीबुटी, लालीगुराँस, बयर, छहरा आदि जस्ता कच्चा पदार्थहरूको सदुपयोगसमेत हुन सकेन ।

नेपालसँग युरोनियम छ । नवलपरासीको धौवादीमा फलाम खानी छ । ढुंगा, मार्बल खानी छन् । कालीगण्डकीमा काला पत्थरहरू छन्, चुनढुंगाको खानीहरू छन् । तर, खनिजजन्य पदार्थहरू प्रयोगमा आउन सकेको छैन अर्थात् सदुपयोग भएको छैन । पुँजीगत खर्च बढाउन जग्गा प्राप्तिलाई सहज बनाउनुुपर्छ । पुल, सडक, भवनलगायत पूर्वाधार बनाउन जग्गा प्राप्त गर्न निकै कठिन हुुन्छ । जग्गा सरकारले किन्नै पर्छ भन्ने नीति छ, त्यो अत्यन्तै कठिन भयो ।

त्यस्तै, निर्माण सामग्रीको सहज आपूर्ति नहुनु अर्को समस्या हो । निर्माण सामग्री खोलाबाट निकाले खोलाले नै बस्ती बगाउँछ भन्ने, डाँडाबाट भत्काए पूरै पहाडै सिध्यायो भन्ने तर, करोडौं रुपैयाँ बराबरको ढुंगा–गिट्टी भारतमा बगेर गइरहेको छ । निर्माण सामग्री प्रयोगमा नजरअन्दाज ग¥यौं तर, नीति बनाएनौं ।

अहिले नेपालको कुल क्षेत्रफलको करिब ४७ प्रतिशत जमिन जंगलले ढाकेको छ । कार्बनबापत विश्व बैंकबाट अर्बौं रुपैयाँ नेपालले पाउने अवस्था छ । तर, वातावरण प्रभाव मूल्यांकन भनेर जंगलमा प्रवेश निषेध गरिएको छ । वातावरण प्रभाव मूल्यांकनका नाममा विकास निर्माण प्रक्रियालाई लम्ब्याइएको छ । लगानीकर्तालाई निरुत्साहित बनाइएको छ । विद्युत् प्रशारण लाइन जंगल भित्रैबाट ल्याउनुपर्ने हुन्छ भने जलविद्युत्को स्रोत पानी पनि जंगल भित्रैबाट प्राप्त हुन्छ । बाटो पनि जंगलको बीचबाटै निकाल्नुपर्छ । जंगलका नाममा भएका ढिलासुस्ती अन्त्य गरी लगानीयोग्य वातावरण बनाउन जरुरी छ ।

अहिले ठेकेदारहरूसँग काम गर्ने मजदुरहरू छैनन् । त्यसैले विदेशिएका युवाहरूलाई स्वदेश फिर्ता ल्याउनुुपर्ने देखिन्छ । नेपाली खेतहरूमा धान रोप्न र काट्न पनि भारतबाट मानिसहरू आइहेको अवस्था छ । पुँजीगत बजेट खर्चको सम्बन्धमा राष्ट्रिय योजना आयोगले समस्याहरू केलाएर समाधानको उपाय पनि सुुझाएको छ । साउनबाट सुरु गरेर असारमा सकिने आर्थिक वर्ष नै मिलेन । नेपालले वि.सं. को पात्रो प्रयोग गरेकाले आर्थिक वर्ष पनि वैशाखबाट सुरु गरेर चैतमा अन्त्य गर्ने व्यवस्था गर्नुपर्छ । आर्थिक वर्षको अन्त्यमा बढी बजेट खर्च गर्नुपर्ने अवस्थाका कारण समस्या भएको छ ।

नेपालले खुला अर्थतन्त्र अवलम्बन गरिरहेको छ । खुला अर्थतन्त्रबाट फर्केर नियन्त्रणात्मक व्यवस्थामा फर्किन नसक्ने भएकाले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्दा अथाह सम्भावना छ । निजी क्षेत्रलाई औद्योगिक व्यवसाय ऐनबाट कैयौँ सुविधा दिइएको छ । ५०० जनालाई रोजगारी दिएको खण्डमा ५० प्रतिशत आयकरमा छुट पाउँछन् । त्यस ऐनमा ७ पेज निजी क्षेत्रलाई दिएको सुविधा उल्लेख गर्नमै सकिएको छ तर, दिइएका सुविधा कार्यान्वयनमा चुकिएको छ ।

नेपालमा अहिलेसम्म निजी क्षेत्रले सडक बनाएर ‘टोल ट्याक्स’ उठाएको छैन । काठमाडौं जस्तो ठाउँमा निजी क्षेत्रले पार्किङस्थल बनाएर पार्किङ शुल्क लिएको छैन । निजी क्षेत्रले फोहोर व्यवस्थापन गरेको खण्डमा उपयुक्त हुन्छ । काठमाडौंमा माथि गुड्ने रेल पनि बनाउन सकिन्छ । निजी क्षेत्रले नवीन क्षेत्रमा लगानी गर्न नआएको हुँदा उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ । जडीबुटी तथा खानीको विकासका लागि एफडीआई ल्याउनुपर्छ । हामी विश्वग्राम (ग्लोबल भिलेज) मा गइसकेको र अर्थतन्त्र खुला नीतिमा गएको हुनाले फराकिलो मानसिकता बनाउनुपर्ने हुन्छ । कुनै क्षेत्र निजी क्षेत्रले दिँदा खाइदिन्छ कि भन्ने भावना लिएर द्विविधाजनक अवस्थाबाट हिँडेर अर्थतन्त्रलाई अपेक्षाकृत रूपमा अघि बढाउन सकिँदैन ।

सरकारले समय–समयमा विद्यमान समस्या समाधान गर्न आयोग तथा समितिहरू बनाउने गरेको छ । २०४६ को जनआन्दोलनपछि खुला नीति अवलम्बन गरिसकेपछि योजना आयोगले निजीकरणबाट कसरी हित हुन्छ भनेर अध्ययन गरी निजी क्षेत्रको वातावरणलाई सहज बनाउन प्रयास भएको थियो । त्यसबेला आर्थिक वृद्धि ८ प्रतिशतसम्म पुुगेको थियो र २ अंकको आर्थिक वृद्धिदर भन्ने बहस सुुरु भएको थियो ।

चीनले असाध्यै राम्रो नीति हुँदा पनि ७/८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गर्न सकेको छ्रैन । भारतको अत्यन्तै तीव्र गतिमा जाँदा पनि ६/७ प्रतिशत मात्रै छ । उदियमान अर्थतन्त्र भएका सिंगापुर, हङकङ, मलेसिया, कम्बोडिया, भियतनामजस्तो देशले भने १०/११ प्रतिशतको वृद्धि सम्भव बनाएका छन् । युरोपमै १.५/२ प्रतिशतभन्दा बढी छैन । नेपालमा ४/५ प्रतिशत मात्रै आर्थिक वृद्धि छ । विकासको क्षेत्र पहिल्याएर ५/६ प्रतिशतको दिगो आर्थिक वृद्धि हासिल गर्न सकिए पनि राम्रै हो ।

अर्थतन्त्र सुधारका लागि आयोग
पूर्वअर्थसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वले राजस्वसम्बन्धी सुुझावहरू दिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको समितिले मुलुकको अर्थतन्त्र सुधारका लागि चाल्नुुपर्ने कदमसहित सुुझाव चाँडै पेस गर्ला । हरेक वर्ष बजेट तयारीका क्रममा सरकारको राजस्व परामर्श समितिले सुझाव दिन्छ । सरकारले पनि समय–समयमा सुझाव माग गर्छ । राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याउँछ । समितिहरूले उचित नै सुझाव दिएका हुन्छन् । राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानले पनि सरकारलाई विभिन्न किसिमको सुझाव दिइरहन्छ । सबैले उचित सुझाव दिएको भए पनि कार्यान्वयमा भने समस्या देखिन्छ ।

डा. डिल्लीराज खनाललाई संयोजक बनाउँदा डिल्ली खनालकै जस्तो सरकार थियो । विद्याधर मल्लिकलाई संयोजक बनाउँदा विद्याधर मल्लिक प्रकारको सरकार थियो । रामेश्वर खनाललाई संयोजक बनाउँदा रामेश्वर खनाल प्रकारको सरकार छ । तर, सुझाव कार्यान्वयन भइरहेको छैन ।

राजनीतिक आग्रह, पूर्वाग्रहबाट प्रेरित आयोग बनाएर अर्थतन्त्रको मूल समस्या समाधान हुन सक्दैन । छिमेकी चीनले एक प्रकारले अर्थतन्त्रलाई अगाडि बढाएको छ । भारतले अर्को किसिमले अर्थतन्त्रलाई अगाडि बढाएको छ । अमेरिका, क्यानडा, युरोपले अर्को प्रकारले अर्थतन्त्रलाई अगाडि बढाएका छन् भने जापान, कोरिया अर्कै ढंगबाट अघि बढेका छन् । मुलुकको अवस्थाअनुसार अर्थतन्त्र सञ्चालन गर्नुपर्ने हुन्छ ।

लगानी बोर्ड नेपाल पनि एक प्रकारको सुझाव दिन बनेको संस्था हो । बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई खोजीसमेत गर्छ । बोर्डकै पहलमा बेलाबेलामा लगानी सम्मेलन गरी नेपालमा आकर्षित गर्ने प्रयास गरेको छ । हालसालै भएको लगानी सम्मेलनमा सातवटा त ऐन संशोधन गरिएको थियो । तर, नेपालमा आशातित् लगानी नआएकाले सम्मेलनमा गरेको खर्च फजुल भएजस्तो देखियो ।

दोस्रो– आयोगहरूले दिने सुझाव अत्यन्तै आदर्शवादी हुने गरेको छ । ठीक कुरा अगाडि बढाउनुपर्छ, बेठीक कुरा नियन्त्रण गर्नुपर्छ भन्छ । समस्या भनेको बेठीक कुरा नियन्त्रण गर्नेबित्तिकै केही मान्छेलाई प्रभाव पर्छ । उनीहरूले पहँुच पु¥याएर नियन्त्रण गर्न दिँदैनन् । नेपालमा न्यून बीजकीकरण भइरहेको छ, त्यसलाई रोक्न आयोगले सुझाव दिन्छ । तर, न्यून बिजकीकरण गर्न पल्केकाहरूलाई बाधा पर्न जान्छ र सुुझाव कार्यान्वयमा समस्या आउँछ ।

बैंकहरूले घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नुु हुँदैन भन्नेबित्तिकै केही वैंक तथा वित्तीय संस्थाहरू चलाउने त दलाली गर्ने मान्छेहरू नै रहेको देखिन्छ । यस्तै कारण सहकारीलगायत केही बैंक तथा वित्तीय संस्थाहरू समस्यामा परेका छन् । सुझावहरू आदर्शका रूपमा आउँछ र कार्यान्वयन गर्दा केही प्रतिष्ठानहरूलाई असर गर्छ । राम्रो कुरा प्रयोग गर्न नदिने एउटा समस्या हो भने एउटा सरकारले बनाएको नीति अर्को सरकारले कार्यान्वयन नगर्ने अर्को समस्या हो । त्यसो गरिँदासम्म नेपालको अर्थतन्त्र अन्योलको भुमरीमा रुमलिरहन्छ । (विजय दमासेसँग कुराकानीमा आधारित)

नाफिजको अर्थचित्रबाट साभार

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

वि.सं.२०८३ जेठ १८ सोमवार १०:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु...