आजदेखि गरिमा समृद्धि योजनाको इकाईका लागि आवेदन दिन सकिने
वि.सं.२०८१ पुस ७ आइतवार
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डको इकाईका लागि पुस ७ गतेदेखि पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन म्याद थप हुनेछ।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
फण्डमा न्यूनतम १ सय इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित समय : १०:३० बजे





















