बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न प्राधिकरणको पत्राचार
वि.सं.२०८१ मंसिर १३ बिहीवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुल नबुझाएका उद्योगहरूको बैंक खाता रोक्का गर्ने भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन्।
मङ्गलबार विद्युत् नियमन आयोगले विवादित उद्योगहरूको विद्युत नकाट्न निर्देशन दिएपछि प्राधिकरणले महसुल नबुझाउने ३४ उद्योगीहरुको बक्यौता रकम नयाँ विकल्प प्रयोग गरी काट्न लागेको हो ।
प्राधिकरणका सूचना अधिकारी चन्दन कुमार घोषका अनुसार वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४० (२) एवम् विभिन्न अदालतको फैसलाबमोजिम बक्यौता असुली नभएसम्मका लागि बैंक खातामा रकम जम्मा गर्न पाउने तर रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गर्न प्राधिकरणले राष्ट्र बैंकमा पत्राचार गरेको हो ।
“महालेखा परीक्षकको कार्यालयबाट विभिन्न आर्थिक वर्षको लेखा परीक्षण गर्दा उक्त बक्यौता असुल गर्नुपर्ने गरी बेरुजु कायम भएको छ,” राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा भनिएको छ, “बक्यौता असुलीका लागि विभिन्न अवधिमा समय दिँदा पनि भुक्तान नगरेकाले नेपाल विद्युत् प्राधिकरण ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, एवं विभिन्न अदालतका आदेशबमोजिम उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीका खताबाट रकम झिक्न नपाउने गरी रोक्का राखी महसुल असुलीमा सहयोग गरिदिनुहुन अनुरोध छ ।”
यसअघि कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो।
प्राधिकरण विद्युत महसुल संकलन विनियमावलीमा लाइन काट्न मिल्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम काट्न लागिएको प्राधिकरणले जनाएको छ।
प्रकाशित समय : ११:४० बजे





















