अब मलेसियामा कामदारको न्यूनतम तलब १७०० रिङ्गेट
वि.सं.२०८१ कात्तिक ३ शनिवार
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो ।
प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।
उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’
नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।
मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुआति तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।
प्रकाशित समय : १२:२९ बजे




















