ग्लोबल आइएमई बैङ्कबाट एकै पटक ४ हाकिमसहित २८ जनाको अवकाश
वि.सं.२०८० साउन २४ बुधवार
काठमाडौं । ग्लोबल आइएमई बैङ्कले कर्मचारीको लागी निकालेको स्वैच्छिक अवकाश योजनामा २८ जनाले आवेदन दिएका छन् ।
अवकाश राेज्नेमा तत्कालीन बैङ्क अफ काठमाण्डूका २७ जना र ग्लोबल बैङ्कका १ जनाले आवेदन दिएका छन् ।
गत पुस २५ गते ग्लोबल आइएमई बैङ्कले बैङ्क अफ काठमाण्डूलाई अक्वायर गरेपछि पहिलो पटक कर्मचारी स्वैच्छिक अवकाश योजना ल्याएको हो । सो योजना हिजो साउन २२ गते सोमबार सकिएको बैङ्क स्रोतले बताएको छ ।
बैङ्कको भीआरएसमा २८ जना कर्मचारीहरूले आवेदन दिएका छन् । बैङ्क स्रोत अनुसार १ जना डिजीएम र ३ जना एजीएमसहित २८ जना कर्मचारी भीआरएस अप्लाइ गरेका हुन् । ‘बैङ्कले ल्याएको भीआरएस सोमबार सकिएको छ, सो अवधिमा डीजीएम र एजीसहित २८ जना कर्मचारीहरूले अप्लाइ गरेका छन्’ बैङ्क स्रोतले भन्यो ।
बैङ्क अफ काठमाण्डूका उच्च तहमा रहेका कर्मचारीले मात्रै अवकाश रोज्नुमा बैङ्कभित्र ग्लोबल समूहको वस्चर्स्व रहेको बुझ्न सहिन्छ । बैङ्कले अवकाश रोज्ने कर्मचारीलाई सेवा अवधिको आधारमा ८ महिना देखी २० महिनाको तलब सुविधा दिन लागेको छ ।
बैङ्कका डिजिएम दीपक गाैतम, कर्पोरेट बिजनेस प्रमुख अनिल श्रेष्ठ, जनरल सर्भिसका प्रमुख कमलराज पाठक, बैङ्कको रिटेल एन्ड कर्पोरेट प्रमुख सन्तोष प्रधानले पनि अवकाश रोजेका छन् । अवकाश रोज्ने ४ जना हाकिम साबिक बैङ्क अफ काठमाण्डूका पूर्व कर्मचारी हुन् ।
बैङ्क अफ काठमाण्डूलाई २०७९ पुस २५ गतेदेखि अक्वायर गरेको ग्लोबल आइएमईले मर्जरको ७ महिनापछि कर्मचारीलाई बिदाइ गर्न लागेको हो ।
प्रकाशित समय : १६:४३ बजे






















