यस्तो छ देशकै महत्वपूर्ण बुढानीलकण्ठ नगरपालिका
“आधारभूत सर्वसुलभ स्वास्थ्य सेवा, स्वस्थ निरोगी नगरवासी”
वि.सं.२०७९ माघ १२ बिहीवार
बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका मध्येको एक हो । यो नगरपालिका एउटा प्रसिद्ध धार्मिक सम्पदाको नामबाट नामाकरण भएको देशकै महत्वपूर्ण स्थानीय सरकार हो । बूढानीलकण्ठ नगरपालिका बागमती प्रदेश काठमाडौं जिल्लामा अवस्थित सांस्कृतिक धरोहर सहितको स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर हो ।
नेपालको राजधानी काठमाडौंका ११ वटा नगरपालिकामध्ये (महानगर बाहेक) जनसंख्याको आधारमा सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरततर्फ नुवाकोट जिल्लाको गाउँपालिकासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुंञ्ज, दक्षिणमा काठमाडौ महानगरको वडा नं. ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा नं. ४ धापासी रहेको छ ।
त्यस्तै पश्चिमततर्फ टोखा नगरपालिका पर्दछ । पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र का.म.न.पा. वडा नं. ६ सँग जोडिएको छ । साविकका चपली, भद्रकाली, खड्का भद्रकाली, विष्णु बूढानिलकण्ठ, महांकाल, चुनिखेल र कपन गरी ६ गा.वि.स. मिलेर बनेको यस नगरपालिकामा वि.सं. २०६८ को तथ्याङ्क अनुसार १,०७,९१८ जनसंख्या रहेको र हाल करिव २ लाख जनसंख्या बसोवास गर्छन् । आवासीय क्षेत्र धेरै रहेको यस नगरलाई १३ वडामा विभाजन गरिएको छ । उत्तरतर्फ शिवपुरी पर्वत श्रृंङ्खला, हरियाली जङ्गल करिव ३ कि.मी. दुरीमा फैलिएको यो स्थल शैव, वैष्णव र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो ।
बुढानीलकण्ड नगरपालिका भित्र प्रसिद्ध बूढानीलकण्ठ मन्दिर, चण्डेश्वरी मन्दिर, रुद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरु रहेका छन् । बौद्धमार्गीहरुका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर, झ्याङ्गतेरा, दाग्र्यालिङ गुम्वा, आनी गुम्वा लगायतको बौद्ध मठहरु रहेका छन् ।
त्यस्तै विभिन्न धर्मालम्वीहरुका आस्थाका केन्द्रहरु समेत रहेका छन् । विश्व मानचित्रमा यस बूढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९ सेकेण्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पुर्वी देशान्तर देखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पुर्वी देशान्तरसम्म फैलिएको छ ।
यस नगरपालिकाको उचाई समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग कि.मी. रहेको छ ।
काठमाडौंको बाहिरी भागमा अवस्थित यस नगरपालिका पहिला पहिला काँठको नामले परिचित थियो । काँठको परिभाषा अन्तर्गत सहरी व्यवसाय भन्दा फरक अर्थात कृषि व्यवसायलाई नै प्राथमिकतामा राखिने गरिन्छ र त्यो कृषि केही व्यापारिक प्रयोजन र केही निर्वाहमुखी गरी मिश्रित हुने गर्दछ । त्यसैले होला यो बूढानीलकण्ठ नगरपालिकाको नक्सामा भू–भाग कृषिमा रहेको देखिन्छ । तर हाल यो भू–भाग पूर्णतः कृषिमा मात्र नभएर बसोबाससँग पनि मिश्रित छ ।
यस नगरपालिकाको अवस्थिति उत्तरको शिवपुरी संरक्षण क्षेत्रसम्म फैलिएका कारण नगरपालिका भएर पनि यसमा झण्डै ४२ प्रतिशत भन्दा बढी भू–भाग वनजङ्गल र बूट्यान छ । खासगरी दक्षिणी भागमा घना जनआवादी थपिँदै नयाँ नयाँ घर तथा आवास निर्माणले यस नगरपालिकाका बसाई आउनेको संख्या बढेको देखिन्छ ।
काठमाडौंका अन्य नगरपालिकाभन्दा यस नगरपालिकाको आफ्नै फरक विशेषताहरु रहेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको साझा आस्थाको केन्द्र, धार्मिक सहिष्णुताको अनुपम नमुना बुढानीलकण्ठ मन्दिर यसै नगरपालिकामा पर्दछ । राष्ट्रिय निकुञ्जको काखमा शान्त र सुन्दर हावापानी यही क्षेत्रमा पाइन्छ । काठमाडौंको सभ्यता निर्माणमा महत्वपुर्ण योगदान दिने बाग्मती, विष्णुमती, रुद्रमती (धोवीखोला) जस्ता नदीहरुको उद्गमस्थल तथा जलाधार क्षेत्र यही नगरपालिकाको अर्को महत्वपूर्ण विशेषता रहेको छ । त्यतिमात्र होइन शिवपुरी बाबा, टोड्केबाबा लगायत विभिन्न योगी तपस्वीहरुको तपोभूमी तथा विपश्यना ध्यानकेन्द्र जस्ता योग साधनका केन्द्रहरु यहीं पर्दछन् । नेपालमा प्रख्यात बूढानीलकण्ठ मन्दिर यस नगरपालिकाको वडा नं. ३ मा अवस्थित छ ।
पुस्तौपुस्तादेखि नै यस मन्दिरलाई एक प्रमुख धार्मिक तीर्थस्थलको रुपमा मानिदै आएको पाइन्छ । यहाँका मानिसहरुले आ–आफ्नो घरपरिवारमा कुनै शुभकार्य विवाह, व्रतवन्ध वा विशेष पूजा गर्दा सुरुमा भगवान विष्णुको दर्शन गरेर मात्र गर्ने चलन छ । यस मन्दिरको धार्मिक, साँस्कृतिक पुरातात्विक, साँस्कृतिक, पर्यटकीय स्थल बनाउन र बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न गुरु योजना सहितको नीति अख्तियारी गरेको छ ।
नेपालको संघीय राजधानीमा अवस्थित यस बूढानीलकण्ठ क्षेत्रलाई धार्मिक रुपले मात्र नभई पर्यटकीय हिसावले समेत विकास गर्न सकिने सम्भावना प्रचुर छ । यस क्षेत्रमा सुन्दर उपत्यकाको दृश्यावलोकन गर्न मिल्ने चिसिनेको झरना स्थल, वनभोज स्थल, पार्क, हाइकिङ, साइक्लिङ्ग, शिवपुरी बागद्वार पदमार्ग लगायत छन् ।
बूढानीलकण्ठदेखि शिवपुरीको टापुमा रहेको शिवपुरी महादेवस्थानसम्म केबुलकार सञ्चालन गर्न सकिन्छ । संसारमा पाइने धेरै प्रजाति मध्येका पुतली शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइन्छ । यसलाई व्यवस्थिति गर्न सके पर्यटन व्यवसाय, अनुसन्धानलाई समेत प्रोत्साहन गर्न सकिन्छ । यसका लागि अधिकार सम्पन्न बूढानीलकण्ठ विकास कोष गठन गरी मन्दिरको एकद्वारा प्रणाली अवलम्वन गरी वृहत बूढानीलकण्ठ गुरुयोजना बनाई अघि बढ्नु पर्ने आवश्यकता छ । अनिमात्र यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरी विश्वभरका हिन्दु बौद्धमागीहरुको धार्मिक संगमस्थल बनाउन सकिन्छ । भारतका तीर्थ यात्रीहरुको भनाई अनुसार यसलाई बद्रीनाथको शिर मानिन्छ । त्यसैले लाखौं लाख भारतीय तीर्थ यात्रीहरु यहाँ आउने गर्छन् । एउटै शीलाबाट निर्मित यो मूर्ति विश्वको एक अद्भूत हरिहर भगवानको मूर्ति हो । पर्यटकको आकर्षण काठमाडौंको महाराजगञ्जबाट अलिकति पर बाँसवारी झरेपछि छुट्टै खालको सौन्दर्य आभास हुन्छ । शिवपुरीको स्वच्छ हावाको स्पर्श पाउने वित्तिकै जोसुकैले महसुस गर्छन्, काठमाडौंमा पनि यति स्वच्छ हावा वहने ठाउँ छ । यस क्षेत्रका मठ मन्दिर भञ्ज्याङ चौतारिले स्वदेशी देखि पर्यटकलाई समेत उत्तिकै आकर्षण गरेको छ ।
लोकतन्त्र र समृद्धिको लामो संघर्षबाट भएको राजनैतिक परिवर्तन पश्चात भएको संघीय लोकतान्त्रिक नेपालको संविधानले व्यवस्था गरेको ३ तहको सरकारको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन भई उद्वव खरेलको नेतृत्वमा ५ वर्ष पूरा भएको छ । त्यो समयमा यस नगरपालिकामा विकास, पुर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद, पर्यटन अािद क्षेत्रमा अन्य नगरपालिकाको भन्दा धेरै काम भएको पाइन्छ । अहिले दोस्रो कार्यकाल नगर प्रमुख मिठाराम अधिकारीले नेतृत्व गरिरहेका छन् । अधिकारीले स्पष्ट लक्ष्य र उद्देश्य विगतमा हुन नसकेको कामहरुको समीक्षा गर्दै अघि बढेका छन् ।
यस नगरपालिकाले सुशासनिक सङ्गठनको संरचना, जनशक्ति कार्यक्षमता वृद्धि गरी मुस्कान सहितको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । मुस्कान सहितको सेवा विगत देखि नै शुरु भएको योजना हो । यो नारामा मात्र नभएर साच्चिकै प्रत्याभूत हुने खालको छ । स्वच्छ पिउने पानी वितरणको आधार तय गरी शीघ्र १ घर १ धारा पु¥याउने कार्यक्रमको लक्ष्य अनुसारका भइरहेको छ ।
यस नगरपालिकाले आम नागरिकलाई नगर निर्माणमा सरिक गराउने योजना अनुसार काम शुरु भएको बुझिन्छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकासका लागि नगरको गुरु योजना निर्माण गर्न विभिन्न छलफल, अनुसन्धानबाट निर्णयमा पुग्ने परिपाटीको विकास गरी अघि बढेको पाइन्छ । यस नगरपालिकाले राजस्व वृद्धि गरी नगरस्रोतको आम्दानी बढाई त्यस क्षेत्रका जनतालाई कसरी बढी भन्दा बढी लाभान्वित गर्न सकिन्छ त्यो दिशामा कार्यक्रमहरु अघि सारेको छ । नगरपालिकाले पर्यटन पूर्वाधारको गुरुयोजना बनाई १ पार्क र पर्यटन पैदल मार्गको रेखाङ्कन गर्ने लक्ष्य समेत राखेको छ ।
“पर्यटन पूर्वाधार ः समृद्धिको मूल आधार” अघिसारी थुप्रै कार्यक्रमहरु अघि बढाएको छ । पर्यटन बोर्ड मार्फत पर्यटन तालिम प्रवन्ध सूचना केन्द्र, अध्ययन अनुसन्धान गरी प्रचार प्रसारको काममा अघि बढेको छ । नगर विकास योजना कार्यान्वयन क्षमता वृद्धि गर्ने समेत लक्ष्य राखी अघि बढेको छ ।
“व्यवस्थित भौतिक पूर्वाधार ः नगर विकासको आधार” अघि सार्दै नगरपालिकाको स्थापनाकालदेखि ६ वटा फरक प्रशासनिक एकाइको रुपमा रहेका गा.वि.स.हरुको एकिकृत संरचना बनिसकेपछि भैरहेको सवै खालका भौतिक पूर्वाधारको विकासलाई योजनावद्ध एकिकृत संरचनामा जोड्दै विगत ६ वर्षमा थुप्रै कामहरु भैरहेको छ ।
नगरपालिकाले आफ्ना लक्ष्य र उद्देश्यहरु पूरा गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अघि सारेको छ ।
स्वास्थ्य नीतिको सन्दर्भमाः “आधारभूत सर्वसुलभ स्वास्थ्य सेवा, स्वस्थ निरोगी नगरवासी” अघि सारी मानिसको सबैभन्दा ठूलो सम्पत्ति नै आफ्नो स्वास्थ्य भएकोले नागरिकहरु स्वस्थ भएमा मात्र अन्य कुराहरु व्यवस्थिति हुन सक्छ भन्ने कुरा प्रत्याभूत गरेको छ । कोभिड महामारीको समयमा नगरपालिकाले नागरिक स्वास्थ्य, जीउधनको सुरक्षाको विभिन्न उल्लेखनीय काम समेत गरेको थियो ।
शिक्षा क्षेत्रमा नगरको दीर्घकालिन विकासको लागि “सर्वसुलभ, गुणस्तरीयर जीवन उपयोगी शिक्षा” को सार्थक कार्यान्वयनको लागि नगर स्थापनाको सुरुवाती दिनबाटै थुप्रै कामहरु गर्र्दै आएको छ । विद्यालयको शैक्षिक स्तर सुधार हुँदै गएको र प्राविधिक विषयको अध्यापन गर्न अवसर वृद्धि हुँदै गएको देखिन्छ । नगरपालिकाले सामाजिक सुरक्षा र दिगो शान्तिको कार्यक्रम अघि बढाउन थुप्रै कार्यक्रमहरु अघि सारेको छ । व्यवस्थित शहरी विकास योजना सम्बन्धमा भवन निर्माण मापदण्ड आचारसंहिता कार्यविधि अनुसार स्वीकृत दिने नीतिले अन्य नगरपालिका भन्दा व्यवस्थित आवासको विकास भएको छ । जसले गर्दा नगरको सौन्दर्य विग्रेको छैन । यो नगर यृुवा र रोजगारी मैत्री रहेको स्पष्ट देख्न सकिन्छ ।
“स्वस्थ, शिक्षित, जिम्मेवार युवाको जाँगरः स्वच्छ, शान्त नगर, समृद्ध भविष्यको आधार” अघि सारेको छ । नगरमा भएका युवा सिप तथा प्रतिभाहरुको पहिचान गरी रोजगारी उपलब्ध गराएको छ । सीप तालिम उद्यमशीलता, रोजगार, आय आर्जन, आर्थिक विकास गतिविधि वृद्धि गरी समृद्ध तर्फ अग्रसर गराउने दिशामा नगरपालिका केन्द्रित छ ।
नगरले असल शासन, पारदर्शी प्रशासनको नीति अन्तर्गत नगरका करदाताहरुको पहिचान गर्ने, उत्कृष्ट करदातालाई प्रोत्साहन तथा सम्मान गर्ने योजना अघि सारेको छ । नगरको आन्तरिक श्रोत परिचालन र वृद्धि गर्न करको दायरा बढाउने र प्रगतिशील कर प्रणाली लागू गर्दै अघि बढेको छ । यस नगरपालिकाले राजस्व भुक्तानी प्रक्रियालाई अनलाइन प्रविधिमा समेत दिएको छ । नगरको राजश्वमा पर्यटनको योगदान बढाउन आवश्यक नीतिहरु अघि सारेको छ ।
प्रदेश र संघीय सरकारबाट संचालित योजना र कार्यक्रमहरुको अनुगमन, मूल्यांकन सहजीकरणको लागि संयत्र बनाई अघि बढेको छ बुढानीलकण्ठ नगरपालिका । योजना छनौट, सम्झौता, कार्यान्वयन र प्रगति प्रतिवेदनको प्रभावकारी औजारको रुपमा अनुसूची बनाई लागु गरी अघि बढेको छ यो नगरपालिका । महिला, दलित, अपाङ्ग, पछि परेका समुदाय र विकट भौगोलिक अवस्थामा गरिने विकास निर्माण कार्यमा लागत सहभागिता सहज बनाइने नीति अघि सार्दै अघि बढेको पाइन्छ नगरपालिका ।
विद्यमान अवस्थाको समीक्षा गर्दै बहुआयमिक नीतिहरु अघि सार्दै अघि बढेको पाइन्छ यो नगरपालिका । योजना निर्माणमा स्थानीय आवश्यकता, राष्ट्रिय लक्ष्य र उद्देश्य अनुरुप हुन नसक्दा दिगो विकास र समृद्धिको दिशा निर्दिष्ट गर्न नसकिएको ठहर गर्दै बूढानीलकण्ठ नगरपालिका गल्ती सच्याउँदै अघि बढेको पाइन्छ । यस नगरपालिकाले भौतिक पूर्वाधार निर्माण, सडक सञ्जालको गुरुयोजना र मापदण्डबारे भर्खर मात्र छलफल गरेको पाइएको छ । मानिसको जीवनसँग अत्यन्त महत्व राख्ने पिउने पानीको माग र आवश्यकता अनुरुप ठोस योजना नहुँदा केही जनता अझै पनि खानेपानी सुविधाबाट बञ्चित रहेका छन् ।
अव्यवस्थित र अदूरदर्शी शहरीकरणको कारण नगरको आधारभूत सुविधा र सौन्दर्यको व्यवस्था गर्न कठिन देखिदा आशातित सफलता प्राप्त गर्न सकेको छैन नगरपालिका । यो नगरपालिकामा धेरै चुनौतिको बाबजुत पनि प्रयाप्त अवसरहरु पनि छन् ।
नगरपालिकाभित्र रहेका धार्मिक मठ मन्दिर, ऐतिहासिक वस्तीहरुलाई जोड्ने धार्मिक सर्किट निर्माण गर्न सकिने सम्भाब्यता रहेको छ । हरियाली सहरको रुपमा विकास गरी एउटा नमुना शहर बनाउन सकिने प्रचुर संभावना छ । त्यतिमात्र होइन पहिलो रोजाईको आवासीय क्षेत्रको रुपमा विकास र अध्यात्मिक केन्द्रको रुपमा विकासको सम्भावना पनि त्यतिकै छ । नगरको मौलिक संस्कृति, परम्परा, पहिचान, इतिहास, भौगोलिक सौन्दर्य चिनारीको विकास प्रवद्र्धन गर्दै पर्यटन विकासका अनगिन्ती सम्भावना बोकेको छ यस नगरले ।
समृद्धि, विकास निर्माणको प्रयाप्त काम हुँदाहुदै पनि नगरपालिकाका केहि कमजोर पक्षहरु पनि छन् । भिरालो भू–भाग भएको कारण माटो कटान, भूक्षय, पहिरो र नदी कटानले जनतालाई बढी दुःख दिएको छ । अवैज्ञानिक रुपले बस्ती विकास र भवन निर्माणको कामले सहरको सौन्दर्य कायम गर्न कठिन परेको छ । विपद व्यवस्थापन गर्न खुला क्षेत्रको अभाव छ । नगरपालिकाले अधिकतम स्रोत परिचालन गर्न सकेको छैन । सार्वजनिक नदी खोला अतिक्रमण नियन्त्रण गर्न सकेको छैन ।
स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नगरवासीहरुमा नगर विकास योजनामा विश्वास र अपनत्व पैदा गर्न सकिरहेको छैन । स्थानीय विषय वस्तुमा अध्ययन, अनुसन्धान र खोजीको पनि कमि रहेको देखिएको छ । सुविधा सम्पन्न स्वास्थ्य सेवा दिने अस्पतालको समेत कमि रहेको छ । यी कमजोर पक्षहरुमाथि नगरपालिकाले विशेष ध्यान पु¥याई योजनाबद्ध ढंगले बढ्नु पर्ने देखिन्छ ।
यो नगरपालिकाले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरी आधुनिक ब्यवसायिक एवं प्राविधिक शिक्षामा जोड दिएको छ । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबच्चा टाढा नरहोस भन्ने हेतुले अनिवार्य विद्यालय जाने अवस्थाको सृजना गरेको छ । बाबुआमाको संरक्षण नभएका असाहायहरुको लालनपालन र अनिवार्य शिक्षाको समेत व्यवस्था मिलाएको छ । यो नगरपालिकाले नगर विद्यालयस्तर अतिरिक्त क्रियाकलाप सञ्चालनमा रहेका विद्यालयहरुलाई सहयोग समेत गरेको छ ।
बूढानिलकण्ठ नगरपालिकामा सञ्चालित ३० भन्दा बढी विभिन्न क्षेत्रका बाल विकास आश्रमहरुको निरीक्षण, अनुगमन प्रतिदिन सहित बाहिर जिल्ला र स्थानीय तहबाट बालबालिका संकलन गरी ल्याउने क्रम घटाई आ–आफ्ना क्षेत्रमा नै ब्यवस्थित नगरपालिका नीति गर्ने योजना बनाएको छ । प्रत्येक वडामा बालमैत्री खेलमैदामन पार्क सहित सामाजिकरण विकासका क्रियाकलाप र स्थानको व्यवस्था गर्ने गरेको छ ।
समृद्धि– विकासका थुपै्र योजनाहरु सम्पन्न भएता पनि यो नगरपालिकाका थुपै्र चुनौतिहरु पनि रहेका छन् । बूढानिलकण्ठ नगरपालिकामा दिन प्रतिदिन वस्ती बढ्दै गएकोले नगरभित्र उत्सर्जन हुने फोहोर मैलाको संकलन र व्यवस्थापनमा थप चुनौति थपिएको छ । यस क्षेत्रमा बाहिर जिल्लाबाट आएका मानिसहरु बढ्दै गएकोले थप रोजगारीका लागि चुनौति थपिएको छ ।
साथसाथै शहरी गरिबी बढेको छ । स्थानीय युवाहरु अवसरको खोजिका लागि विदेश पलायन दिन दिनै बढ्दै गएको छ । विकासमा नगरबासीलाई सहभागि गराई अघि बढाउन पनि थप चुनौति छ । सबै नागरिक तथा ब्यवसायीलाई करको दायरामा ल्याई राजस्व बढाउन थप चुनौति छ ।
नगरपालिकाको आम्दानी र भुक्तानी प्रक्रियालाई सेवाग्राहीमैत्री र प्रविधियुक्त बनाउने कार्यक्रममा समेत थप चुनौति रहेको छ । बढ्दो युवाहरुको दुव्र्यसनी र कुलत अर्को चुनौतिको रुपमा रहेको छ ।
यो फिचर समग्र मिडिया वार्षिक स्मारिका २०७९ मा प्रकाशित भएको छ।
प्रकाशित समय : २२:५९ बजे






















