धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०७९ साउन २९ आइतवार
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ करोड ३१ लाख कित्ता मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।
कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड पश्चात बल्ल सर्वसाधारणका लागि बाँकी रहेको तीन लाख ९ हजार २९५ कित्ता निष्काशन गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यपिटलले जनाएको छ ।
आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ ।
यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आइपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : १०:५७ बजे



















