राष्ट्र बैंकको प्रतिवेदनः मधेश प्रदेशमा बैंक, वित्तको निक्षेप १३.२४ प्रतिशतले वृद्धि(पूर्णपाठसहित)
वि.सं.२०७९ असार २३ बिहीवार
काठमाडौं । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्ध–वार्षिक प्रतिवेदन अनुसार कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ४७ अर्ब ९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३७.५६ प्रतिशतले वृद्धि भई रु.२ खर्ब १८ अर्ब २० करोड पुगेको थियो ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ३७.२९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब २४ अर्ब १४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४.२२ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ८ अर्ब ९४ करोड पुगेको थियो ।
यसैबीच प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थिति आर्थिक वर्ष २०७८-७९ को प्रथम अर्धवार्षिक अवधिको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६८.७६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम १ प्रतिशत मात्र रहेको छ ।
कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान ५.०४ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५५.८६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.१९ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश ९.१३ प्रतिशत रहेको छ ।
कृषि क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४.३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.५१ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६.६२ प्रतिशत रहेको छ ।
विपन्न वर्गमा प्रवाहित कर्जा मध्ये सबै भन्दा बढी बागमती प्रदेशमा ४५.७६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १.९४ प्रतिशत रहेको छ । सहुलियतपूर्ण कर्जा तर्फ सबभन्दा बढी बागमती प्रदेशमा ३०.६५ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबभन्दा कम १.३१ प्रतिशत रही सबभन्दा कम कर्जा प्रवाह भएको देखिन्छ ।
पुनरकर्जा तर्फ सबभन्दा बढी बागमती प्रदेशमा ४२.६० प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २.३० प्रतिशत मात्र कर्जा प्रवाह भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११,२१५ मध्ये सबै भन्दा बढी बागमती प्रदेशमा २,८६६ रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा केवल ४४४ शाखाहरू रहेको छ ।
समिक्षा अवधिमा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूकोशाखा संख्या १,७०३ रहेको छ । यसैगरी मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६२,५९,९२५ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४,८३,०८१ रहेको छ । मधेश प्रदेशमा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १६,१०,८३३ रहेका छन् ।
सहुलियतपूर्ण कर्जा
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा रु.४४ अर्ब ६८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा रु.८ अर्ब ५७ करोड रहेको थियो ।
समिक्षा अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह हुनु प्रमुख कारण देखिन्छ । प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी रु.२६ अर्ब ११ करोड अर्थात्५८.४४ प्रतिशत धनुषा जिल्लामा र सबैभन्दा कम रु.९७ करोड अर्थात् २.१७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।
प्रकाशित समय : १०:३९ बजे





















