न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
वि.सं.२०७८ असोज १५ शुक्रवार
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ आज (असोज १५ गते, शुक्रबार) देखि बिक्रि खुला भएको छ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपि डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
२०७८ असोज १५ गते प्रकाशित
प्रकाशित समय : १०:०१ बजे






















