आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो
वि.सं.२०८१ पुस १० बुधवार
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज इसाई धर्मावलम्बीले क्रिसमस दिवस मनाइका छन् ।
अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।
आजभन्दा दुई हजार वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएका जनविश्वास रहेको छ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो। हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। सानो धुपी जस्तो देखिने च्याट्ट मिलेको रुख अर्थात् क्रिसमस ट्री आजका दिनमा प्राय देखिन्छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । नेपालमा पनि विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ। पर्यटकीय क्षेत्र काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ। बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।
क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको ुक्लयध ःबलु विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएको छ । चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृति, नितान्त खुसीको अभिव्यक्तिका रूपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बीहरू छन् । सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा यो महान् क्रिसमस रमाइलो होस् । हाम्रो पनि शुभकामना ।
प्रकाशित समय : १७:२२ बजे





















