कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक
वि.सं.२०८३ साउन २७ बुधवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो। यसपटक खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा उल्लेख्य सुधार आएको हो।
गत आवमा बैंकले १२ अर्ब १ करोड ३० लाख ८३ हजार रुपैँया खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको हो। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशत र कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। यसको प्रभाव बैंकको सञ्चालन मुनाफामा पनि परेको हो। समीक्षा अवधिमा सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेको बैंकको वित्तीय विवरणले देखाएको छ। गत आवको सञ्चालन मुनाफा ११ अर्ब २३ करोड रहेको छ।
नाफामा आएको सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ रुपैयाँ ९४ पैसा रहेको प्रतिशेयर आम्दानी गत असार मसान्तसम्ममा २८ रुपैयाँ १७ पैसा पुगेको हो। अर्थात् यस्तो आम्दानी २१ रुपैयाँ २३ पैसाले बढेको छ।
व्यवसाय विस्तारतर्फ समीक्षा अवधिसम्म बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सो अवधिमा बैंकको कर्जा लगानी २ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ७९ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यसअनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ।असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा भने १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ।
प्रकाशित समय : ११:१६ बजे






















