फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह
वि.सं.२०८३ साउन २० बुधवार
काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएको घटनाले देशको यातायात क्षेत्रलाई स्तब्ध बनाएको विभिन्न यातायात व्यवसायीले बताएको छ।
दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यातायात क्षेत्रका सङ्गठनहरूले बेपत्ता व्यक्तिहरूको तत्काल प्रभावकारी खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार र सम्बन्धित निकायसँग संयुक्त रूपमा आग्रह गरेका छन्।
नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई तथा अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक के.सी.ले संयुक्त धारणा सार्वजनिक गर्दै उद्धार कार्यलाई अझ तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेका हुन्।
साउन १८ गते भएको उक्त दुर्घटनामा प्रदेश ३–०२–०२४ च ५७५३ नम्बरको कार सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय चालक दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २७ वर्षीय गणेश थापा तथा नाम खुल्न बाँकी रहेका एक जना सहयोगी (हेल्पर) बेपत्ता भएका छन् । संयुक्त विज्ञप्तिमा तीनै जनाको सकुशल उद्धारको कामना गर्दै खोजी कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गराइएको छ।
दुर्घटनापछि सडक अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग बन्द हुँदा खोटाङ–काठमाडौँ आवतजावत गर्ने लगायत यातायात सेवा प्रभावित हुनुका साथै मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । यात्रुहरूको आवागमनलाई यथाशीघ्र सहज बनाउन वैकल्पिक व्यवस्थासहित आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
यस्ता, दुःखद दुर्घटनाको सत्य तथ्य यथार्थ छानबिन गर्न, सडक दुर्घटना पुनरावृत्ति रोक्न, सरकार, सुरक्षा निकाय, सडक निर्माण तथा मर्मत गर्ने निकाय, यातायात व्यवसायी, मजदुर र यात्रु सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै सुरक्षित यातायात संस्कृतिको विकासमा साझा प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रकाशित समय : १४:०४ बजे





















