अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।
सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशभर सुरक्षा व्यवस्था कडा बनाइएपछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति पु¥याउने मनसायले गरिएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन् ।
यस्तै, काठमाडौंका विभिन्न स्थानहरूबाट २३ थान हतियार तथा पोखराबाट ८ थान हतियार बरामद गरिएका छन् । यसरी बरामद गरिएका हतियारहरूको सङ्ख्या ३१ नाल पुगेको छ, जसमा म्यागजिन र गोलीगठ्ठा समेत रहेका छन् ।
साथै, तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको प्रयास जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
हिंसात्मक घटनामा २३ जना नेपाल प्रहरीका सदस्यहरू घाइते भएका छन् भने तीनजना सर्वसाधारण पनि घाइते भएका छन् । उनीहरूको नेपाली सेनाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित समय : १२:५७ बजे