अटोमोबाइल क्षेत्रका समस्याबारे प्रधानमन्त्रीसँग नाडाको छलफल, सरकारले स्थायी नीति नियम ल्याउन अध्यक्ष चौधरीको सुझाब

वि.सं.२०८१ साउन ८ मंगलवार

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ ।
उक्त छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखापरेका विभिन्न समस्याबारे संक्षिप्त रूपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिका कारण व्यवसायी निरुत्साहित हुँदै गएको बताएका थिए । उनले नाडाले नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझाव पेश गरेको स्मरण गराएका थिए ।
अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुन: गतिशील बनाउन बंैकबाट निजी सवारीसाधनको ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भेलु रेसियो’को हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरी ७५ प्रतिशत गरिनुपर्ने बताएका थिए । ‘चालू पूँजी कर्जा मार्गदर्शन २०७९’ लागू भएपश्चात्का कर्जामा मात्र हुनेगरी कार्यान्वयनमा ल्याएमा समस्याको समाधान हुने उनको भनाइ थियो । छलफलमा अध्यक्ष चौधरीले विद्युतीय सवारीसाधनका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउन सुझाएका थिए ।
छलफलमा दुईपांग्रे सवारीसाधनको सन्दर्भमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्नुपर्ने, हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज र भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकाले दुई पांग्रे सवारीसाधनको अगाडिको सकरमा ठोकिने भएकाले भारतमा लागू भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गर्न व्यवसायीले सुझाएका थिए ।

प्रकाशित समय : ११:०५ बजे