back

चिकित्सा शिक्षा: डाक्टर बने पनि किन उनीहरू बिरामीको उपचार गर्न अयोग्य ठहरिए?,कस्ता डाक्टर बढी फेल हुन्छन्?

नेपाल मेडिकल काउन्सिलले हालसालै प्रकाशित गरेको लाइसेन्स परीक्षाको नतिजामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्रै उत्तीर्ण भए।

अर्थात् परीक्षार्थी डाक्टरमध्ये केवल एक तिहाइले मात्रै अब बिरामीको उपचार गर्न पाउने भएका छन्।

काउन्सिलले वर्षमा तीन पटक अर्थात् प्रत्येक चार महिनामा एमबीबीएस र बीडीएस(डेन्टल साइन्स)को लाइसन्स परीक्षा लिने गर्छ।

तर पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने केही अपवादबाहेक अधिकांशजसो परीक्षामा परीक्षार्थीमध्ये आधाकै हाराहारीमा वा त्यो भन्दा कम डाक्टरले मात्रै लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्।

यस पटक करिब १५ सय डाक्टरले लाइसेन्स परीक्षा दिँदा दुई तिहाई जसो अनुत्तीर्ण भएका छन्। त्यसरी अनुत्तीर्ण हुनेमा विगतमा पनि पटक पटक परीक्षा दिँदै आएका डाक्टरहरू रहेको काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले बताए।

त्यसरी पटक पटक परीक्षा दिने मेडिकल शिक्षाका स्नातकहरू धेरैजसो चीन, बाङ्ग्लादेश, फिलिपिन्स, भारत लगायतका देशबाट पढेर फर्किएकाहरू रहेको मेडिकल काउन्सिलले जनाएको छ।

नेपालभित्रै अध्ययन गरेका कुन कुन मेडिकल कलेजका विद्यार्थीहरू धेरै उत्तीर्ण वा अनुत्तीर्ण हुन्छन् भन्ने तथ्याङ्क भने काउन्सिलले दिन अस्वीकार गरेको छ।

तर वर्षेनी देखिँदै आएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक भन्दै अब चनाखो हुनुपर्ने देखाएको काउन्सिलका रजिष्ट्रार डाक्टर अधिकारी बताउँछन्।

“यसबारे काउन्सिल, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय मिलेर कहाँनेर कमजोरी छ। जस्तै, शीप विकासमा वा सैद्धान्तिक ज्ञानमा कमजोरी छ वा कोर्स नमिलेको छ वा कोर्समा एकरुपता छैन ती पक्षलाई हेर्छौँ र समाधान खोज्छौँ।”

चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
डाक्टरहरूको लाइसेन्स परीक्षा लिँदा केवल सैद्धान्तिक ज्ञानको जाँच गर्ने गरी मल्टिपल च्वइस क्वेस्चन (वस्तुगत प्रश्नउत्तर) मात्रै सोध्ने गरिएको छ।

अन्य थुप्रै देशले गर्नेजस्तो दक्षता जाँच गर्ने समेत गरिए अहिलेको अनुत्तीर्ण हुने प्रतिशत अझै फराकिलो रूपमा बढ्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राध्यापक डा. जगदीश अग्रवाल भन्छन्, “मुटु कसरी छाम्नुपर्छ, लिभर कसरी छाम्नुपर्छ, मानिसलाई अचानक हृदयघात भयो भने के गर्नुपर्छ भन्ने त हामीले सोधेकै छैनौँ।”

दक्षता जाँच बिना केवल सैद्धान्तिक ज्ञानको मात्रै परीक्षा लिँदा आएको परिणामले चिकित्सा शिक्षाको गुणस्तरमाथि नै प्रश्न उठाएको उनले बताए।

र, यसले हाम्रा विद्यार्थी, विश्वविद्यालयका शिक्षक र हामीले शिक्षा दिने तरिका सबैमा समस्या रहेको देखाएको उनी बताउँछन्।

उनले भने, “विद्यार्थी कमजोर भएपछि पास हुँदैन। अर्को कुरा विश्वविद्यालयले दिइरहेको शिक्षा राम्रो नभएर पास हुँदैन। हामीचाहिँ हाम्रो स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने एकदमै असुरक्षित हुँदै गइरहेका छौँ।”

अहिलेको निराशाजनक नतिजामा सुधार ल्याउन के गर्नुपर्ला भन्ने प्रश्नमा सङ्क्षिप्त जवाफ दिँदै उनी भन्छन्, “इमानदार मानिसले राजनीति बिना काम गर्नुपर्छ।”

प्रवेश परीक्षामा नयाँ नियम
यसै वर्षदेखि एमबीबीएस अध्ययनका लागि सुरु गरिएको प्रवेशिका परीक्षाको नयाँ नियमले आगामी दिनमा लाइसेन्स पाउने डाक्टरको सङ्ख्यामा अझै कमी आउनेप्रति उनी चिन्ता व्यक्त गर्छन्।

यसअघिसम्म कम्तीमा ५० प्रतिशत ल्याउने विद्यार्थीले एमबीबीएस पढ्न पाउँथे। तर यो वर्षदेखि पर्सेन्टाइल प्रणाली ल्याइएको छ। जसमा जति विद्यार्थीले परीक्षा दिन्छन् त्यसमध्ये आधा विद्यार्थी एमबीबीएस पढ्न पाउँछन्।

यसले गर्दा प्रवेशिका परीक्षामा ५० प्रतिशत ल्याउनै पर्ने यसअघिको जस्तो बाध्यकारी नियम छैन।

अहिले वर्षेनी १८९५ जना विद्यार्थीले एमबीबीएस पढ्न पाउँछन्।

चिकित्सा शिक्षा आयोगको तथ्याङ्क अनुसार १८ हजार विद्यार्थीले एमबीबीएस पढ्नका लागि प्रवेशिका परीक्षा दिने गरेका छन्। त्यसमध्ये आधा अर्थात् ९००० विद्यार्थी पढ्नका लागि योग्य हुन्छन्।

तर माथिल्लो १ नम्बरदेखि १८९५ सम्मकाले पहिलो प्राथमिकता पाउने र ती विद्यार्थी भर्ना नभएको हकमा मात्रै क्रमै अनुसार अन्य विद्यार्थीले पाउने गर्छन्।

डाक्टर अग्रवाल भने यस्तो नयाँ प्रणालीले नै आगामी दिनमा गुणस्तरीय चिकित्सकहरू उत्पादन नहुने ठान्छन्।

नेपाल मेडिकल काउन्सिल

नियमनकारी निकायको भूमिका
चिकित्सा शिक्षाको नियमन र व्यवस्थापन गर्ने आधिकारिक निकाय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी केवल एक तिहाइ डाक्टरले मात्रै उपचार गर्न पाउने नतिजा निराशाजनक भएको बताउँछन्।

प्रवेशिका परीक्षाबाट कस्ता विद्यार्थीले भर्ना पाउँछन् भन्ने एउटा पक्ष लाइसेन्स परीक्षासँग जोडिए पनि धेरै अनुत्तीर्ण हुनुमा अन्य थुप्रै विषय रहेको भन्दै यसबारे आयोगलगायत काउन्सिल र विश्वविद्यालयहरूले छलफल गरेर सुधार गर्नुपर्ने उनी बताउँछन्।

उनले भने, “हाम्रा मेडिकल ग्र्याजुएटहरूको ज्ञान निकै कम रहेछ भन्ने इम्प्रेसन यसले दिन्छ। भोलिका दिनहरूमा मेडिकल युनिभर्सिटीको सन्दर्भमा नियमनकारी भूमिका निर्वाह गर्ने विषयमा आयोगको पनि ध्यान जान जरूरी छ।”

कस्ता डाक्टर बढी फेल हुन्छन्?
डाक्टर गिरीले भने जस्तै यस विषयमा मेडिकल शिक्षा दिने विश्वविद्यालयहरूसँग शिक्षाको गुणस्तरबारे छलफल गरेर समाधान खोज्नुपर्नेमा काउन्सिलका रजिष्ट्रार अधिकारी पनि बताउँछन्।

डाक्टरको लाइसेन्स परीक्षामा किन धेरै अनुत्तीर्ण भइरहेका छन् भन्ने बुझ्न ६/७ वर्ष अगाडिको परिस्थिति बुझ्नुपर्ने अधिकारी बताउँछन्।

त्यतिबेला विदेशमा एमबीबीएस वा बीडीएस पढ्न जानका लागि नेपाली विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने बाध्यकारी नियम थिएन।

जसका कारण नेपालमा पढ्न नपाउने तर डाक्टर बन्न चाहने धेरै विद्यार्थीहरू चीन, भारत, फिलिपिन्स, रुस, बाङ्ग्लादेश, युक्रेनलगायतका देशमा एमबीबीएस पढ्न जान्थे।

अहिले अनुत्तीर्ण हुनेमा धेरैजसो तिनै विद्यार्थी रहेको उनी बताउँछन्।

तर सन् २०१६ देखि नेपालमा प्रवेशिका परीक्षा पास गरेका विद्यार्थीमात्रै विदेशमा एमबीबीएस वा बीडीएस पढ्न पाउने व्यवस्था गरियो।

कहिलेदेखि यो प्रतिशत घट्दै जाला?
यसले एमबीबीएस पढ्न विदेश जाने विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको तथ्याङ्कले देखाउँछ।

डाक्टर अधिकारी भन्छन्, “लाइसेन्स परीक्षामा जतिबेला नेपालमै पढेका मात्रै विद्यार्थी बस्थे त्यतिबेलाको पास प्रतिशत राम्रो थियो। त्यसैले सन् २०१६ पछि एमबीबीएस पढेर डाक्टर बनेकाहरूमात्रै लाइसेन्स परीक्षामा बस्न थालेपछि पास प्रतिशत पनि बढ्ने हाम्रो अनुमान छ।”

उनका अनुसार त्यो भनेको अब सन् २०२४/२०२५ देखिमात्रै हो।

तर पूर्व डीन अग्रवाल भने केवल विदेशमा पढेर फर्किएकामा मात्रै नभएर नेपालबाटै उत्पादन भएका डाक्टरमा पनि समस्या छ।

मेडिकल कलेजले दिने शिक्षादेखि डाक्टर हुनुअघि लिइने परीक्षाहरूमा पनि समस्या रहेको उनी बताउँछन्।

“पढाउने शिक्षक पूरा समय दिएर विद्यार्थी नपढाइ क्लिनिकमा जान्छ, कलेजहरूले पुरानै शैलीमा परीक्षा लिएर विद्यार्थी पास गराइरहेका छन्। यी सबैले हामीले उत्पादन गर्ने चिकित्सकको गुणस्तरमा पनि असर गरिरहेको छ।”

अहिले लाइसेन्स परीक्षामा बस्ने केही डाक्टरहरू २०/२५ पटकसम्म पनि लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेको काउन्सिलले जनाएको छ।

त्यसरी अनुत्तीर्ण हुने डाक्टरहरूले बिरामी उपचार गर्न नपाउनेमात्रै होइन माथिल्लो तहमा पढ्न पनि पाउँदैनन्।

चिकित्सा शिक्षा समय र अर्थका हिसाबले निकै खर्चिलो भएकोले यस्ता समस्याको समाधानका लागि खासगरी चारवटा कुरामा ध्यान दिनुपर्ने डाक्टर अग्रवाल बताउँछन्।

उनका अनुसार विद्यार्थीको क्षमता जाँच्नका लागि प्रवेश परीक्षाबाटै थाल्नुपर्छ।

त्यसपछि कलेजले दिने शिक्षा, पढाउने तरिका र विद्यार्थीको मूल्याङ्कन गर्ने तरिकामा सुधार गरि त्यसको अनुगमन गरे मात्रै गुणस्तरीय चिकित्सक उत्पादन गर्न सकिने उनी बताउँछन्।

 

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...