चार महिनामा सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब
वि.सं.२०८१ मंसिर ५ बुधवार
काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा झण्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको चौमासिक अवधि अर्थात साउन देखि कार्तिककसम्ममा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो ।
चालु आवको कार्तिक मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब रहेको थियो ।
नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.१४ प्रतिशत हो । यसमध्ये आन्तरिक जीडीपीको २१.९५ र बाह्य २२.१९ प्रतिशत छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउलदेखि कार्तिक महिनामा कुल १ खर्ब ६५ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब ४४ अर्ब आन्तरिक ऋण र २१ अर्ब ७२ करोड बाह्य ऋण थपिएको हो । यसअवधिमा सरकारले १ खर्ब ८ अर्ब १४ करोड ऋण तिरेको छ ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ ।
सरकारले यस वर्ष १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा कार्तिक मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ३०.३० प्रतिशत छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा कार्तिक मसान्तसम्म १ खर्ब ८ अर्ब १४ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २६.८४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च १.९० प्रतिशत हो ।
प्रकाशित समय : ११:५२ बजे