कार्तिकमा ३७ अर्ब ८६ करोड उठ्यो आन्तरिक राजस्व
वि.सं.२०८१ मंसिर ४ मंगलवार
काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा ३७ अर्ब ८६ करोड १९ लाख ७४ हजार आन्तरिक राजस्व संकलन भएको छ ।
आन्तरिक राजस्व विभागले लिएको ४५ अर्ब ८९ करोड ४७ लाख ४३ हजार लक्ष्यभन्दा ८ अर्ब ३ करोड २७ लाख ६९ हजार कम राजस्व असुली भएको हो ।
कार्तिक महिनासम्म विभागले १ खर्ब ५० अर्ब ९५ लाख राजस्व असुली गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा विभागले १६.१२ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
चालु वर्षको ४ महिनामा विभागले आयकर शिर्षकमा ५० अर्ब ३५ करोड राजस्व संकलन गरेको छ । यो अवधिमा विभागले ६४ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
मूल्य अभिवृद्धि कर (भ्याट) शिर्षकमा ४१ अर्ब ४४ करोड राजस्व संकलन भएको छ । यो शिर्षकमा ५१ अर्ब १ करोड राजस्व असुल गर्ने लक्ष्य विभागको थियो ।
यस्तै, अन्तशुल्क आन्तरिक तर्फ ३७ अर्ब ४८ करोड राजस्व असुल भएको छ । यो शिर्षकमा विभागले ३९ अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
बहाल कर शिर्षकमा ६८ करोड ३१ लाख राजस्व असुली हुँदा ब्याजकर शर्षकमा १४ अर्ब ९ करोड राजस्व असुल भएको छ भने स्वास्थ्य सेवा शुल्क २ अर्ब ५ करोड, शिक्षा क्षेत्रबाट १ अर्ब ११ करोड राजस्व संकलन हुदाँ अन्य शिर्षकबाट ३ अर्ब ७२ करोड राजस्व संकलन भएको छ ।
प्रकाशित समय : १३:१४ बजे





















