चिनियाँ र रुसि राष्ट्रपति सि र पुटिनबीच फोनवार्ता, अफगानिस्तानबारे पनि कुरा चल्यो
वि.सं.२०७८ भदौ १० बिहीवार
काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अफगानिस्तानको विषयमा छलफल भएको छ । राष्ट्रपति सि र पुटिनबीच फोन वार्ता भएको हो ।
वार्तामा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताए। साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताए ।
हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पु¥याउने उनको भनाई रहेको थियो ।
यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो ।
साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताए ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगष्ट ३१ सम्म सक्ने बताए।
अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उहाँले बुधबार पनि दोहोर्याए।
यहाँ उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ । आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन् ।
काबुल विमानस्थलमा अहिले पनि भीडभाड रहेको छ । मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।
विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लागेको हो ।
तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छोड्न चाहेका छन् । अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि दश हजार मानिस रहेका बुधबार बताइएको छ ।
२०७८ भदौ १० गते प्रकाशित
प्रकाशित समय : १४:२५ बजे






















