एमालेका सांसदलाई रमेशजङ्ग रायमाझीले भने तपाईंहरु काँग्रेसको चिन्ता नगर्नुस्
वि.सं.२०७८ साउन २६ मंगलवार
काठमाडौं ।राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले बालुवाटारमा रातारात भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई कसले भित्र्यायो भनेर प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको आज (मंगलबार) बसेको बैठकको विशेष समयमा बोल्दै उनले ‘रअ’का प्रमुखलाई रातारात बालुवाटारमा भित्र्याएपछि नै तत्कालीन सरकारले ‘चुच्चे नक्शा’ लुकाएको आरोप लगाए ।
उनले प्रतिपक्षी सांसदतिर लक्षित गर्दै ‘नेपाली काँग्रेसको चिन्ता अन्य पार्टीले गरेको देख्दा उहाँहरु काँग्रेसमै प्रवेश गर्दैहुनुहुन्छ कि जस्तो पो लागेको छ भन्दै व्यन्ग्य गरेका छन् ।’
उनले दुई तिहाई बहुमतको नजिक पुगेर पनि सरकार चलाउन किन नसकेको भनेर प्रतिपक्षका सांसदहरुलाई प्रश्न गरे ।
२०७४ सालको निर्वाचनपछि सुटुक्क प्रचण्डलाई बोलाएर केपी शर्मा ओलीले पार्टी एकता गरेको स्मरण गराउँदै उनले भने, ‘त्यो एकतालाई कायम राख्न नसक्ने, अनि अहिले काँग्रेसलाई दोष देखाउने ?’
यो देशमा प्रजातन्त्र ल्याउन हरेक आन्दोलनको नेतृत्व काँग्रेसले गरेको भन्दै उनले टुक्रा टुक्रा भएको बाम घटकलाई २०४६ सालमा मिलाउने कामसमेत नेपाली काँग्रेसले नै गरेको जिकिर गरे ।
अहिले काँग्रेसले नचाहँदा नचाहँदै पनि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको र त्यसको श्रेय ओलीलाई नै जाने उनले प्रस्ट पारे ।
संसद विघटन गरेर संसदलाई समाप्त पार्न चाहने, संविधानलाई मास्न खोज्ने गरेकै कारण ओलीलाई आफ्नै पार्टीका सांसदहरुले सत्ताबाट हट्न भनेको उल्लेख गर्दै प्रतिनिधिसभाका बहुमत सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका कारण देउवाले सरकारको नेतृत्व गर्नुपरेको उनले प्रस्ट पारे ।
उनले काँग्रेसका नेताहरु बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतको लगानीका कारण, उनीहरुले देखाएको बाटोमा हिँडेका कारण नै अहिले संसदमा यसरी ‘कुर्लन’ पाइरहेको पनि उल्लेख गरे ।
‘कोभिड महामारीका बीचमा पनि सरकारले भ्रष्टाचार गर्न थाल्यो, जनताको सुरक्षालाई ध्यान दिएन । संविधान मिच्यो । संसद विघटन गरिरह्यो । त्यसपछि बाध्य भएर जनताको सुरक्षा र संविधानको रक्षाका लागि काँग्रेसले सांसदहरुकै समर्थनमा सरकारको नेतृत्व लिएको हो,’ उनले भने ।
ओलीलाई एमालेका सांसद खिमलाल भट्टराईले ‘राजनेता’ भनेकोप्रति लक्षित गर्दै रायमाझीले भने, ‘भ्रष्टाचारी राजनेता भन्नुस्, भ्रष्टाचारको राजनेता भन्नुस्, स्वीकार्न तयार छु ।’
२०७८ साउन २६ गते प्रकाशित
प्रकाशित समय : ०७:४२ बजे





















