नेपाल युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरद्वारा ग्लोबल आईएमई बैंक प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ग्लोबल आईएमई बैंक प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४।० सम्पन्न भएको छ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौंको प्रतिष्ठित हयात रेजेन्सी होटलमा आयोजना गरिएको थियो।
कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरू सहभागी भएको आयोजकको भनाइ छ । कार्यक्रममा यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख रूपैयाँ नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको थियो।
पहिलो उपविजेता मेल्ट डाउनलाई २ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रूपैयाँ प्राप्त गर्यो।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल थिए।
कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए। प्रमुख अतिथि प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औँल्याए।
एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको नेतृत्वमा एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०ले नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा व्यापक प्रशंसा प्राप्त गरेको बताइएको छ।
कार्यक्रममा निम्न सात उत्कृष्ट स्टार्टअपहरू अन्तिम चरणमा पुगेका थिएः
डीएल अपलोड
मेल्ट डाउन
खेतीपाती अर्गानिक्स
ज्ञान बजार
ई कागजपत्र
माच २० अर्बिटल्स
स्मार्टपालिक
यस कार्यक्रमको शीर्षक प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको थियो।
प्रकाशित समय : १३:१८ बजे





















