मनकामना इन्जिनियरिङ्गको नाफा उल्लेख्य बढ्यो
वि.सं.२०८२ कात्तिक २६ बुधवार
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशत बढेको छ भने कुल नाफा २४.८५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३०.६९ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा कम्पनीले १४ लाख ५७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५४ पैसा बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२३ गुणा रहेको छ।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
प्रकाशित समय : १०:३७ बजे





















