व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

वि.सं.२०७८ भदौ ९ बुधवार

दमौली । तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगपालिकाले नगर क्षेत्रभित्र रहेका प्रतिविद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। एवं वडा नं ५ का अध्यक्ष समेत रहेका श्रेष्ठले उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्ने बताए ।
उनले भने “उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ ।”
नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो ।
“सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन शुरु गराउन समितिमा सिफारिस गरिएको छ”, श्रेष्ठले भने । बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घरलगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
२०७८ भदौँ ९ गते प्रकाशित

प्रकाशित समय : १२:०६ बजे