भक्तपुरको बजेट : चालू खर्चतर्फ १ अर्ब १० करोड र पूँजीगततर्फ ८२ करोड ९७ लाख

वि.सं.२०७८ असार ११ शुक्रवार

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १० औं नगरसभामा बिहीवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पूँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ ।
सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।
त्यस्तै बाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कुल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।
बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको १६ दशमलव ३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३ दशमलव ५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २ दशमलव ७३, नवनिर्माण तथा पुनर्निर्माणमा २० दशमलव ७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४ दशमलव शून्य ४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६ दशमलव १४, युवा तथा खेलकूदको क्षेत्रमा २ दशमलव ४५, कृषिमा १ दशमलव ५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१ दशमलव ९८ प्रतिशत विनियोजन गरिएको छ ।
कोरोनाका कारेण आगामी आवको शुरु चार महीनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड रुपैयाँ र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र सडक बोर्डका योजनालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखि १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । रासस
२०७८ असार ११ गते प्रकाशित

प्रकाशित समय : १२:०७ बजे