पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्ने सरकारको योजना छः अर्थमन्त्री पुन
वि.सं.२०८० चैत ८ बिहीवार
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्ट्वेयरहरु निर्यात भएको अवस्था रहेको भन्दै आइटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाए । उनले युवाहरुलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरु ल्याउने बताए । अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको बताए ।
उनले भने- ‘आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ । यो सम्बन्धि सेवाहरु निर्यात गर्नसक्छौं । नेपालमा नै बसेर गर्न सक्ने अध्ययनले देखाउँछ । हरेक वर्ष १० हजार युवाहरु प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको रुपमा आइरहेका छन् । युवा विदेश पलायनको डरलाग्दो अवस्था देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रुपमा निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको छ ।’
सरकारले आइटी क्षेत्र बाहेक अन्य कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य न्युनतम दायित्वको रुपमा राज्यले प्राथमिकता दिए समय अनुकुल सुधार गर्ने काम गर्ने अर्थमन्त्री पुनले बताए । स्वास्थ्य शिक्षा सुधारको लागि विश्व विद्यालयको उपकुलपति राजनीतिक भागबण्डा भन्दा पनि प्रतिष्पर्धाबाट नियुक्तिको शुरुवात गरिएको र बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको उनले बताए ।
प्रकाशित समय : १५:३६ बजे






















