खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविद्या दिन आग्रह
वि.सं.२०७८ कात्तिक १० बुधवार
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई भेट्न पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरी रोका, दिपक विष्ठ, संगिना बैद्य लगाएतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेका छन् । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न पहिलो पटक कार्यालय पुगेका अग्रज खेलाडीहरुसँगको छलफलका क्रममा मन्त्री अथक भावुक देखिएका थिए ।
राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको भन्दै अग्रज खेलाडीहरुले गुनासो गरीरहँदा मन्त्री अथक भावुक देखिएका हुन् ।
खेलाडीहरु सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका थिए । नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरु अझैं पनि न्युन सेवा सुविधामै चित्त बुझाउनुपर्ने अवस्थामा रहेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।
अन्तराष्ट्रिय स्तरका खेल खेल्न विदेशी भुमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफुसँग रहेको अग्रज खेलाडी बैकुण्ठ मानम्धरले बताए । आफ्नो उर्जावान समय राष्ट्रकालागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जिवन धान्न सक्ने अवस्था नरहेको बताए ।
खेलाडीहरुको गुनासो सुनिसकेपछि मन्त्री अथकले आफु निकै भावुक भएको बताउँदै नेपाली खेल क्षेत्रको समग्र विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको उल्लेख गरे । समग्र नेपाली युवा तथा खेलाडीहरुको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरीरहेको समेत बताए । साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारकाको ब्यवस्था मिलाएको बताउँदै मन्त्री अथकले खेलाडीहरुको हौसाला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
२०७८ कार्तिक १० गते प्रकाशित
प्रकाशित समय : १५:५६ बजे





















