गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार
वि.सं.२०८३ भदौ २ मंगलवार
काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान गर्दै आएको प्रतिष्ठित मञ्च ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ को शीर्ष ६ फाइनालिस्टको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
ग्लोकल प्रा.लि. द्वारा आयोजित तथा गोल्छा ग्रुपको शीर्षक प्रायोजनमा सञ्चालित यस कार्यक्रमका लागि यस वर्ष देशभरिका सातै प्रदेशबाट कुल ७९१ जना किशोरकिशोरीहरूले आवेदन दिएका थिए। प्राप्त आवेदनहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी २६.२७ प्रतिशत, कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेश प्रदेशबाट १९.४९ प्रतिशत सहभागिता रहेको थियो।
कुल आवेदकहरूमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला रहेका थिए। उनीहरूले मुख्य गरी STEM तथा प्रविधि, जलवायु परिवर्तन, युवा सशक्तीकरण, सामाजिक न्याय, नागरिक सहभागिता, शिक्षा र स्वास्थ्य जस्ता विभिन्न महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्ना नवप्रवर्द्धन र योगदान दर्ता गराएका थिए।
सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो अभियान आफ्नो १२ औँ वर्षमा आइपुग्दा केवल नेपालमा मात्र सीमित नरहेर दक्षिण एसियाली स्तरमै विस्तार भएको छ। यस वर्षको संस्करणलाई ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ को रूपमा परिमार्जन गर्दै यसको दायरा नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच देशसम्म पुर्याइएको छ। यस ऐतिहासिक विस्तारले शैक्षिक अङ्कभन्दा बाहिर रहेर समाजमा सकारात्मक परिवर्तन ल्याउन खटिएका दक्षिण एसियाली युवा परिवर्तनकर्ताहरूलाई एउटै साझा मञ्चमा ल्याउने क्षेत्रीय प्रतिबद्धतालाई दर्शाउँछ।
प्राप्त ७९१ आवेदनहरूबाट प्रारम्भिक चरणमा उत्कृष्ट २० (ग्लोकल्स २० अन्डर २०) को छनोट गरिएको थियो। तीमध्येबाट कागजात परीक्षण, कामको प्रभावकारिता र दिगोपनाको गहन मूल्याङ्कन गरी तीन सदस्यीय स्वतन्त्र जुरी टोलीले शीर्ष ६ फाइनालिस्टको चयन गरेको हो। जुरी टोलीमा कोका-कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी, केएफसी र पिज्जा हटका कन्ट्री म्यानेजर विजय शर्मा तथा एसियाली विकास बैंक (ADB) का सिनियर एजुकेसन स्पेसलिस्ट जेफ्री सुसुजयान संलग्न हुनुहुन्थ्यो।
प्रतिस्पर्धाको अन्तिम चरणमा पुग्न सफल ६ फाइनालिस्टहरूमा कोशी प्रदेश विराटनगरका १५ वर्षीय अर्जुन चौधरी, सुदूरपश्चिम प्रदेश अछामका १९ वर्षीय अबल देव ढकाल, गण्डकी प्रदेश पोखराकी १८ वर्षीया जास्मिन पोखरेल, कर्णाली प्रदेश सुर्खेतका १७ वर्षीय किशोर न्यौपाने, मधेश प्रदेश बर्दिबासका १७ वर्षीय मञ्जिल बस्नेत र गण्डकी प्रदेश नवलपुरकी १९ वर्षीया सधनम सुनार रहनुभएको छ।
यी फाइनालिस्टहरूले आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन्। अर्जुन चौधरीले ४०० भन्दा बढी सक्रिय सदस्यहरू रहेको नेपालको ठूलो किशोर प्रविधि समुदाय ‘आशिषको ह्याक क्लब’ स्थापना गरी साइबर सुरक्षामा काम गरिरहनुभएको छ। अबल देव ढकालले हिउँद र हिमाली समुदायको जलवायु न्यायका लागि आवाज उठाउँदै YOUNGO अन्तर्गत माउन्टेन्स एन्ड ग्लेसियर्स वर्किङ ग्रुपको नेतृत्व गरिरहनुभएको छ।
जास्मिन पोखरेलले ४०० भन्दा बढी विद्यार्थीलाई STEM शिक्षा दिँदै एआई-आधारित डढेलो पत्ता लगाउने प्रविधि विकास गर्नुभएको छ। किशोर न्यौपानेले कर्णालीमा २०,००० भन्दा बढी विद्यार्थीमा जलवायु चेतना फैलाउँदै ३,२३० बिरुवा रोप्नुका साथै ट्र्यास कलेक्सन रेस आयोजना गर्नुभएको छ। मञ्जिल बस्नेतले ‘युथ सिभिक लिङ्क’ मार्फत स्थानीय सरकार र युवालाई जोडेर नीतिगत सुधारमा योगदान गर्नुभएको छ भने सधनम सुनारले UNICEF को ग्लोबल गर्ल्स लिडर एडवाइजरी ग्रुपमा रहेर बालिका अधिकार, लैङ्गिक समानता र महिनावारी स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आउनुभएको छ।
चयन भएका फाइनालिस्टहरू अगस्ट २७ देखि ३१ सम्म आयोजना हुने ‘सेल्फ-कम्पिटेन्सी वर्कसप’ मा सहभागी हुनेछन्, जहाँ उनीहरूलाई कर्पोरेट हाउसहरूको भ्रमण, उद्योग विज्ञहरूसँग छलफल र ज्ञान अभिवृद्धिको अवसर प्राप्त हुनेछ। आगामी अगस्ट ३१ मा जुरी टोलीले फाइनालिस्टहरूको व्यक्तिगत अन्तर्वार्ता लिनेछ। यसका साथै, अगस्ट १८ गते साँझ ५ बजेदेखि अगस्ट ३० गते साँझ ५ बजेसम्म एसएमएस (SMS) मतदान खुला रहनेछ, जहाँ सर्वसाधारणले ३५००1 मा आफ्नो मनपर्ने फाइनालिस्टको कोड (जस्तै: अर्जुन चौधरीका लागि GTH2026 AC) पठाएर भोट गर्न सक्नेछन्। यो जनमतले पनि विजेता चयनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
अन्तिम उपाधि विजेताको घोषणा तथा भव्य सम्मान समारोह आगामी सेप्टेम्बर १, २०२६ मा ललितपुरस्थित ‘द लिलाजा’ मा आयोजना गरिनेछ। यस ग्रान्ड फिनालेमा नेपालसहित पाँचै दक्षिण एसियाली सहभागी राष्ट्रका राष्ट्रिय विजेताहरूलाई सम्मान गरिनेछ भने पहिलोपटक ‘साउथ एसियन ग्लोकल टिन हिरो २०२६’ को ऐतिहासिक ताज पहिराइनेछ। उक्त विशेष समारोहमा विभिन्न देशका राजदूत, राजनीतिज्ञ, कूटनीतिज्ञ, उद्यमी, प्राज्ञिक व्यक्तित्व तथा युवा नेताहरूको बाक्लो उपस्थिति रहनेछ।
यस बृहत कार्यक्रमलाई सफल बनाउन भारतीय दूतावास, युएई दूतावास, UNFPA, प्लान इन्टरनेसनल, KOICA र UN Women ले रणनीतिक साझेदारको रूपमा सहयोग गरेका छन्। शैक्षिक साझेदारमा एम्बार्क कलेज रहेको छ भने अन्य बहुराष्ट्रिय तथा राष्ट्रिय संस्थाहरू होन्डा, कोका-कोला, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा, नबिल बैंक, कान्तिपुर, द काठमाडौँ पोस्ट, वर्ल्डलिङ्क, नेपालपे, र यती एयरलाइन्स लगायतका संस्थाहरूले संस्थागत साझेदारी गरेका छन्।
प्रकाशित समय : १८:१७ बजे






















