ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम
भारतबाट आयात नियमित, तर काठमाडौँका डिपो रित्तै: ग्यास नपाएपछि टेकु पुगे बानेश्वरदेखि थानकोटसम्मका उपभोक्ता
वि.सं.२०८३ साउन १७ आइतवार
काठमाडौँ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसर पुग्दा एक भिन्नै र कारुणिक दृश्य देखिन्थ्यो। चर्को घाम र धुलोको प्रवाह नगरी एक सयभन्दा बढी उपभोक्ताहरू खाली ग्यास सिलिन्डर लाइनमा राखेर आफ्नो पालोको पर्खाइमा थिए। उनीहरूको अनुहारमा थकान, असन्तुष्टि र अनिश्चितता स्पष्ट झल्किन्थ्यो। उपत्यकाका विभिन्न कुना—कलंकी, थानकोट, चाबहिल, बानेश्वर, गोकर्णदेखि लगनखेलसम्मका सर्वसाधारण बिहानैदेखि ग्यास पाउने आसमा भाडाका गाडी र ट्याक्सीमा खाली सिलिन्डर बोकेर टेकु धाउन बाध्य भएका हुन्।
केही दिनयता काठमाडौँ उपत्यकाका मुख्य बजार तथा किराना पसलहरूमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि आयल निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले शनिबारदेखि आफ्नै टेकुस्थित कार्यालय परिसरबाट प्रत्यक्ष ग्यास बिक्री वितरणको विशेष व्यवस्था मिलाएको हो। निगमले १६ साउनदेखि टेकु कार्यालयबाट सिधै ग्यास वितरण गर्न थालेको छ।
निगमका अनुसार हरेक दिन बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म बजारमा धेरै खपत हुने मुख्य ब्रान्डहरू—नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डरहरू सम्बन्धित उद्योगमार्फत बिक्री भइरहेका छन्।
अभावको पृष्ठभूमि: आधा सिलिन्डरबाट पुनः पूर्ण क्षमतामा
उपभोक्ताको सास्ती र बजारको वास्तविक चित्र बुझ्न केही महिना अघिको घटनाक्रम नियाल्नुपर्छ। अमेरिका र इजरायल-इरानबीचको तनाव तथा भूराजनीतिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन र एलपी ग्यास आपूर्तिमा असहज स्थिति सिर्जना भएपछि आयल निगमले २९ फागुन २०८२ मा एक रणनीतिक निर्णय गरेको थियो। जसअनुसार बजारमा अभाव हुन नदिन साविकको १४.२ केजीको सट्टा आधा सिलिन्डर (७.१ केजी) ग्यास मात्र बिक्री-वितरण गर्ने नीति ल्याइएको थियो।
तर, पछि आपूर्ति व्यवस्था सहज र नियमित भएपछि निगमले ३१ असार २०८३ देखि पुनः साविककै पूर्ण क्षमता अर्थात् १४.२ केजी को सिलिन्डर नै बिक्री खुला गर्ने निर्णय गर्यो।
निगमले पूर्ण सिलिन्डर बिक्री गर्ने निर्णय गरेको जम्मा १७ दिन बित्दा नबित्दै उपत्यकामा पुनः ग्यासको हाहाकार र कृत्रिम अभावको स्थिति पैदा भएको छ।
किन सिर्जना भयो त अभाव? निगमको दाबी र विश्लेषण
आधा सिलिन्डर (७.१ केजी) बाट एक्कासि भरी सिलिन्डर (१४.२ केजी) मा जाँदा आपूर्ति र मागको खाडल (Gap) पुर्न केही समय लाग्नु स्वाभाविक भएको निगमका अधिकारीहरू बताउँछन्। तर, यसका पछाडि उपभोक्ताको मनोविज्ञान र अघिल्ला महिनाहरूको खपत दरले ठूलो भूमिका खेलेको निगमका प्रवक्ता मनोज ठाकुरको भनाइ छ। “उपत्यकामा सामान्यतया मासिक रूपमा ४५ देखि ४६ हजार टन ग्यास खपत हुने गर्छ। तर, जब हामीले ७.१ केजीको आधा सिलिन्डर बिक्री गर्यौँ, खपत सोही अनुपातमा हुनुपर्नेमा ह्वात्तै घट्यो। चैतमा ३८ हजार टन, वैशाखमा ३२ हजार टन र जेठमा ३३ हजार टन मात्रै खपत भयो। आधा सिलिन्डर भएपछि उपभोक्ताले चलाएरै राखे, माग नै घटाए,” प्रवक्ता ठाकुरले स्पष्ट पारे। ठाकुरका अनुसार उपभोक्ताहरू १४.२ केजीकै सिलिन्डर आउने समय पर्खेर बसिरहेका थिए।
“यदि उपभोक्ताले १४.२ केजीकै सिलिन्डर नकुरेको भए ग्यास सिलिन्डरहरू पहिले नै नियमित रूपमा भरिन्थे र अहिले एक्कासि यति ठूलो समस्या आउने थिएन,” उनले थपे, “असार ३१ पछि जब १४.२ केजीको ग्यास बजारमा आयो, घर-घरमा थन्किएर बसेका सबै खाली सिलिन्डरहरू एकैपटक बजारमा निस्कन थाले। आपूर्ति पर्याप्त भए पनि एक्कासि बजारमा आएको यो अनपेक्षित मागले गर्दा कृत्रिम अभावको स्थिति सिर्जना भएको हो।”
“प्यानिक बाइङ नगर्नुहोस्, आपूर्ति नियमित छ”
भारतबाट नियमित रूपमा ग्यासको पढाउने र सिलिन्डर भर्ने काम भइरहेको दाबी गर्दै निगमले बिक्रेता र डिलरसम्म ग्यास पुगे पनि खाली सिलिन्डरको सङ्ख्या अत्यधिक भएकाले डिपोमा पुग्नेबित्तिकै ग्यास सकिने गरेको जनाएको छ।
“ग्यास सहज रूपमा नपाउँदा विशेष गरी एउटा मात्रै सिलिन्डर भएका सामान्य र विपन्न परिवारले धेरै दुःक पाएका छन्,” प्रवक्ता ठाकुरले भने, “हामी उपभोक्तालाई ‘प्यानिक बाइङ’ (अनावश्यक सञ्चिति र डरले गर्दा गरिने खरिद) नगर्न विनम्र अनुरोध गर्छौँ। ग्यास आपूर्तिमा कुनै समस्या छैन, आगामी ७ देखि १० दिनभित्र उपत्यकाको ग्यास वितरण पूर्ण रूपमा सामान्य भइसक्छ। त्यसैले तत्काल आवश्यक नभएका मानिसहरू लाइनमा नबसिदिनुहोला।” हाल टेकुस्थित परिसरबाट दैनिक १०० देखि १५० वटासम्म सिलिन्डर प्रत्यक्ष रूपमा सर्वसाधारणलाई बिक्री भइरहेको निगमले जनाएको छ।
निगमको निर्देशन, अनुगमन र हटलाइन सेवा
ग्यासको कृत्रिम अभाव र कालाबजारी रोक्न नेपाल आयल निगमले शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै बजारमा १४.२ केजी एलपी ग्यासको आयात र मौज्दात पर्याप्त रहेको स्पष्ट पारेको छ। निगमले बजार व्यवस्थित गर्न निम्न कदमहरू चालेको छ।
-
उद्योगहरूलाई कडा निर्देशन: सम्पूर्ण एलपी ग्यास उद्योगहरूलाई आफ्ना डिपो र बिक्रेतामार्फत बजारमा सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिइएको छ।
-
उपभोक्ताको अभिलेख अनिवार्य: ग्यास बिक्रेता तथा डिलरहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न भनिएको छ। साथै, कालाबजारी रोक्न खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको स्पष्ट अभिलेख राखेर मात्र बिक्री-वितरण गर्न अनिवार्य गरिएको छ।
-
हटलाइन सेवा सञ्चालन: यदि बजारमा तोकिएको मूल्यभन्दा बढी लिएको, ग्यास लुकाएको वा नपाएको अवस्था आएमा उपभोक्तालाई कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१-५४१९१०२ मा सोझै सम्पर्क गरी गुनासो दर्ता गर्न अनुरोध गरिएको छ।
आयल निगमले एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित रहेको र भविष्यमा पनि कुनै रोकावट नहुने दोहोर्याउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगरी वास्तविक आवश्यकताका आधारमा मात्र ग्यास खरिद गर्न पुनः अपिल गरेको छ।
प्रकाशित समय : २१:५५ बजे





















