वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरे ब्याजदर, कुनको कति ?
वि.सं.२०८१ मंसिर ३० आइतवार
काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजानिक गरेका हुन् ।
देशमा संचालित २० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरूले मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरूले यस्तो ब्याजदर घटाएका छन् भने २ बैंकहरूले ब्याजदर बढाएका छन्।
ब्याजदर बढाउने बैंकहरूमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्। नेपाल बैंक र एनआईसी एशिया बैंकले भने ब्याजदर घटाएका छन् । सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिनेछ।
लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकेको छ ।
एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ ।
प्रकाशित समय : ११:२८ बजे





















