हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ माघ २८ बुधवार
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा आयोजित सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति तथा सञ्चालक दीपक नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै, कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि स्वीकृत गरिएको छ ।
सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रस्तावित विषयमा नियमनकारी निकायबाट संशोधन वा परिमार्जनका लागि निर्देशन आएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।
सभाले कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चसमेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीका जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा कम्पनीलाई अग्रणी बीमा कम्पनीका रूपमा स्थापित गर्न शेयरधनीका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित समय : १८:५४ बजे





















