सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट–२०८२’ सुदूरपश्चिम र नेपालगञ्जमा सम्पन्न
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गर्दै प्रदेशस्तरीय प्रोत्साहन कार्यक्रम ‘स्टार एजेन्सी मिट–२०८२’ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनमा सम्पन्न गरेको छ।
कार्यक्रममार्फत बीमाशुल्क संकलन, बीमालेख संख्या र टोलीगत व्यवसायिक कार्यदक्षताका आधारमा उत्कृष्ट तीन अभिकर्ता/टिमहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सुदूरपश्चिममा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर तथा शाखा प्रमुखहरू सहित ३०० भन्दा बढी सहभागी उपस्थित थिए। नेपालगञ्ज रिजनमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारी सहभागी भएका थिए।
दुवै कार्यक्रम उत्साहपूर्ण र ज्ञानमूलक परिवेशमा सम्पन्न भएका थिए। नेपालगञ्जमा ट्रेनर अर्णिको सिंहले “बीमा व्यवसायमा सफलताको सीप, आत्मविश्वास र सकारात्मक सोच” विषयमा प्रशिक्षण दिए भने सुदूरपश्चिममा ट्रेनर सैयद अफजल अहमदले “ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कला र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माण”बारे उपयोगी सत्र सञ्चालन गरे।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको बीमा व्यवसाय संकलन गरेको जानकारी दिँदै भने, “जीवन बीमा पेशा सेवासँग जोडिएको पेशा हो—सुखदुखमा साथ दिने पेशा। यसलाई मर्यादित र जिम्मेवार ढङ्गले अघि बढाउन आवश्यक छ।” त्यस्तै, नायव प्रमुख कार्यकारी अधिकृत कँडेलले बीमा सल्लाहकारहरूको महत्व र अपरिहार्यता उल्लेख गर्दै, “कार्यक्रमबाट प्राप्त ज्ञान र प्रेरणालाई व्यवहारमा उतारेर आगामी वर्ष कम्पनीलाई अझ उच्च स्थानमा पुर्याउनु आवश्यक छ,”
भनेर अभिकर्ताहरूलाई आह्वान गरे।
प्रकाशित समय : १४:३१ बजे





















