७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?
वि.सं.२०८१ फागुन २६ सोमवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्मको अवधिमा ३६ अर्ब ६ करोड ७९ रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा १.६२ प्रतिशतले बढेको हो ।
यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेस्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ र एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ नाफा गरेका छन्।
यसैगरी, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ नाफा गरेका छन्।
हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैंया, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैंया, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैंया, नेपाल एसबिआइ बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।
धेरैजसो बैंकहरूले अर्बौं नाफा गरे पनि केही बैंक भने करोड क्लबमै सीमित भएका छन्। जसमध्ये माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख, सिटिजन्स बैंकले ९० करोड २६ लाख, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख, कृषि विकास बैंकले ७९ करोड ९९ लाख, कुमारी बैंकले ७३ करोड ८६ लाख र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका छन्।
बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापन, कर्जाको माग, ब्याजदरको उतारचढाव, सेयर बजारको मन्दी, विदेशी मुद्रा सञ्चिति जस्ता कारकहरूले असर पुर्याउने अनुमान गरिएको छ। यदि आर्थिक गतिविधिहरू पुनः सक्रिय भएमा बैंकहरूको नाफा वृद्धिको गति तीव्र हुन सक्छ ।
प्रकाशित समय : १२:२६ बजे





















